• १४ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेशमा सहमतीय सरकार बन्छ : मुख्यमन्त्री कार्की

blog

सचिन पोख्रेल

विराटनगर, कात्तिक १६ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि आफू लागिपरेको बताउनुभएको छ । वर्तमान प्रदेश सरकार विशिष्ट परिस्थितिमा निर्माण भएकाले कोशीमा सहमतिको सरकारको विकल्प नभएको उहाँको भनाइ छ । 

नेपाल प्रेस युनियन कोशी प्रदेश र प्रेस युनियन मोरङले बिहीबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतीय सरकार निर्माण अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन गर्नेलाई आफूले नबिर्सने भन्नुहुँदै यसअघिका मुख्यमन्त्रीले सहमतीय सरकार बनाउनेगरेको अभ्यासलाई पूरा गर्न आफू लागिपरेको बताउनुभयो । उहाँले कोशी प्रदेशको सरकार चाँडै विस्तार हुने र यो सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने बताउनुभयो । 

सरकारलाई सफल बनाउने दायित्व सञ्चारकर्मीको रहेको उहाँको कथन छ । उहाँले सरकारले गर्ने काम कार्यान्वयन भए नभएको त्यस्तो अनुगमन गर्ने र सरकारको काम कार्यान्वयनका लागि दबाब दिनेगरी सञ्चारकर्मीलाई कलम चलाउन आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरेलगायतको उपस्थिति रहेको थियो ।