• १८ वैशाख २०८१, मङ्गलबार

मौसम खुलेसँगै अन्तुमा पर्यटकको आवागमन बढ्यो

blog

अन्तु डाँडामा सूर्योदयको दृश्यावलोकनका लागि आज विहान पुगेका पर्यटकहरु । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, कात्तिक १६ गते । कात्तिक महिना लागेसँगै इलामका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्य अन्तु, कन्याम, सन्दकपुरलगायतका स्थानमा रहेका होटल, कटेज र होमस्टेमा दैनिक पर्यटकको चाप बढ्न थालेको हो ।

सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात अन्तु डाँडामा अहिले आगामी सात दिनसम्मका लागि होटल, कटेज र होमस्टेहरु बुकिङ भइसकेका छन् । दैनिक करिब दुई हजार जना आन्तरिक तथा बाह्य पर्यटक अन्तु आउन थालेको पर्यटन व्यवसायी संघ अन्तुका सचिव रुद्र घिमिरेले बताउनुभयो । 

‘नेपालका विभिन्न स्थानका पर्यटकसँगै भारतको गुहाटी, आसाम, सिलिगुढीलगायतका स्थानबाट आगामी सात दिनसम्मका लागि होटल, कटेजहरु बुकिङ भइसकेका छन्’ घिमिरेले भन्नुभयो, ‘कोभिड अगाडिकै लयमा पर्यटकको आवागमन सुरु भएको छ ।’ धेरैजसो विद्यालय र अन्य क्षेत्रको पनि दसैं–तिहार विदा भएकाले यो बीचमा अन्तु आउने पर्यटकको संख्या उल्लेख्य छ ।

सूर्योदयको दृश्यावलोकनका लागि बनाइएको भ्युु–टावर, त्यहाँको पटाङ्गीनी र त्यहाँको सौन्र्दयीकरणले पनि पर्यटकलाई अन्तुले तानेको छ । सूर्योदयको दृश्यावलोकनसँगै अन्तु पोखरीमा डुङ्गा सयर, चिसो मौसमले पनि यो वर्ष पर्यटकलाई बढी तानेको पर्यटन व्यवसायीको भनाइ छ । 

सूर्योदय नगरपालिकाको फिक्कलस्थित छिविटारबाट १४ किलोमिटर पक्की सडक पार गरेर पुग्न सकिने अन्तुमा करिब एकसय बढी होमस्टे, होटल र कटेज सञ्चालनमा रहेका छन् । अन्तुमा दैनिक करिब १४–१५ लाख रुपियाँको कारोबार हुनेगरेको व्यवसायीको भनाइ छ । 

बाह्रै महिना पर्यटकको चहलपहल हुने अर्को गन्तव्य कन्याममा हिजोआज दैनिक करिब दश हजार बढी पर्यटकहरु घुम्न आउन थालेको स्थानीय कन्याम भिलेज कटेजका सञ्चालक टेकराज गिरीले बताउनुभयो । कन्याम क्षेत्रमा रहेका होटल र कटेजहरु पनि आगामी पाँच दिनसम्मका लागि बुकिङ हुँदैगरेको गिरीले जानकारी दिनुभयो ।

‘नेपालसहित भारतको सिलिगुढी, कलकत्तादेखिका पर्यटकले रुमहरु बुकिङ गरिरहेका छन्’ गिरिले भन्नुभयो । यता सूर्योदय र हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने जिल्लाकै अग्लो स्थान सन्दकपुर र छिन्टापुमा पनि आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् । आन्तरिक पर्यटकले सन्दकपुरका होटलहरुमा ‘बुकिङ’ सुरु गरेको शेर्पा च्यालेट होटलले जनाएको छ । 

इलामको अर्को महत्वपूर्णस्थल धार्मिक तथा पर्यटकीय क्षेत्र माइपोखरीमा पनि अचेल दैनिक पुग्ने पर्यटकको संख्या बढेको छ । माइपोखरीमा दैनिक पूजाआजा गर्न र जैविक विविधताको अध्ययन अवलोकन गर्न दैनिक एकसय जति भक्तजन र पर्यटकहरु आउन थालेको यहाँका पुजारी तुलाराम पौड्यालले बताउनुभयो ।