• ६ माघ २०८१, आइतबार

‘१४ वर्षीया सरिता मधेश प्रदेश सरकारको स्वास्थ्यमन्त्री’

blog

मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्नु भएको कक्षा सातमा अध्यनरत धनुषाको कमला नगरपालिकाकी १४ वर्षीय किशोरी सरिता कुमारी यादव । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा  
जनकपुरधाम, कात्तिक १६ गते ।
कक्षा सातमा अध्यनरत धनुषाको कमला नगरपालिकाकी १४ वर्षीया किशोरी सरिता कुमारी यादव मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्नु भएको छ ।

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा ११ अक्टोवरदेखि सुरु भएको प्लान इन्टरनेशनल नेपालको ‘गल्र्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रमअन्तर्गत बिहीबार  प्रतिकात्मक रुपमा उहाँलाई मधेश प्रदेश सरकारको स्वास्थ्यमन्त्री बनाइएको हो । मधेश प्रदेश सरकारका स्वास्थ्यमन्त्री बिरेन्द्र बहादुर सिंहले आफू बसेको कुर्सी खाली गरेर सरितालाई केही बेरका लागि मन्त्री पदको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।

मन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै सरिताले जिवनमा मन्त्री बन्छु भन्ने कुरा कहिले पनि आफुले नसोचेको र आज आफु मन्त्रीको कुर्सीमा बिरजमान भएपछि आफुलाई भाग्यमानी ठानेको बताउनुभयो । केहीबेरका लागि मन्त्री बन्नेका सरिताले स्वास्थ्य मन्त्रालयमा उपस्थित कर्मचारीहरुसँग मन्त्रालयको कार्यक्षेत्र र हालसम्म मन्त्रालयले गरेका कामकाजको विषयमा जानकारी समेत लिनु भएको थियो । उहाँलाई मन्त्रालयको कार्यक्षेत्र र मन्त्रालयले गरेको कामकाजका बारे मन्त्रालयको स्वास्थ्य महाशाखा योजना प्रमुख डा.सुचित शर्माले जानकारी गराउनु भएको थियो । साथै आम नागरिकलाई स्वास्थ्य क्षेत्रमा भोग्नुपरेको समस्या र त्यसका निदानका लागि मन्त्रालयले चाल्नु पर्ने कदमको विषयमा धनुषाको विदेह र जनकनन्दनी नगरपालिकाका किशोरीहरुले मन्त्री सरितालाई अवगत गराउनु भएको थियो ।

केहीबेरका लागि मन्त्री बन्नुभएको सरिताले आम नागरिकले उठाएका विषयवस्तुलाई सम्बोधन गर्नका लागि मन्त्रालयमा उपस्थित स्वास्थ्यमन्त्री सिंहलाई आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालयसँग उठेका विषयवस्तुबारे जवाफ दिनुहुँदै मधेश प्रदेशका स्वास्थ्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा सुधार भएको अनुभूति आम नागरिकले गर्ने किसिमबाट मन्त्रालयले कामकाज गरीरहेको बताउनु भयो ।

उहाँले यस आर्थिक वर्षमा जनशक्ति व्यवस्थापन, उपकरणको खरिद र भौतिक पूर्वाधारको निमार्ण हुने किसिमले बजेट बिनियोजन भएको बताउनुहुँदै फागुन मसान्त सम्ममा प्रत्येक प्रादेशिक अस्पतालमा जनशक्ति र उपकरणको प्रयाप्त व्यवस्थापन गरिने बताउनु भयो । उहाँले स्वास्थ्यसम्बन्धीे हरेक गतिविधिमा एकरुपता कायम गर्न संघ संस्थाहरुसँग मन्त्रालयले सहकार्य गरी अघि बढन तयार भएको भन्दै यस प्रकारको कार्यक्रमलाई अझै प्रभावकारी बनाउनका लागि व्यापकता दिन उहाँले प्लान इन्टरनेशनललाई आग्रह गर्नुभयो ।

प्लान इन्टरनेशनल नेपालका प्रत्याभूत सञ्चार संयोजक अन्जु साकयले कार्यक्रम सञ्चालन गर्दै हाल सम्म ५१ जना किशोरीले विभिन्न पदको पद हस्तान्तरण गरी सकेको र अझै यो अभियान जारी रहने बताउनु भयो । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका पूर्व क्षेत्रिय कार्यालयका क्षेत्रिय प्रबन्धक रविशंकर पण्डितले किशोरीहरुको समान शक्ति, समान स्वतन्त्रता र समान प्रतिनिधित्वका लागि अभियान सञ्चालन गरिएको जानकारी दिनुहुँदै विश्वको ७५ वटा देशमा यो कार्यक्रम भइरहेको  बताउनु भयो । समाजमा जकडिएको लैङ्गिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुर्व्यवहारको जोखिममा हुने भएकोले यस प्रकारको कार्यक्रमले बालिकाहरुको आत्मबल बढने प्लान इन्टरनेशनल नेपालका काजल झाले बताउनु भयो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो ।