काठमाडौं, कात्तिक १६ गते । नेपाली कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकासकुमार ठाकुरले आइसीसी टी–२० विश्वकप छनौट–२०२३ अन्तर्गत शुक्रबार हुने सेमिफाइनल खेलका लागि एक लाख रुपियाँ नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ । सदस्य ठाकुरले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त पुरस्कार दिने घोषणा गर्नुभएको हो ।
शुक्रबार नेपाल र युएईबीच मूलपानी मैदानमा खेल हुँदैछ । यो खेल जितेमा नेपाल फाइनलमा पुग्नुका साथै टि–२० विश्वकपमा छनोट हुनेछ ।
नेता ठाकुरले नेपाललाई जित दिलाउँदै फाइनलमा स्थान पक्का गरेमा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुई जना खेलाडीलाई व्यक्तिगत तर्फबाट जनही ५० हजार नगद पुरस्कार दिने घोषणा गर्नुभएको हो ।
नेपाली टिम र खेलाडीको हौसला बढाउन नगद पुरस्कारको घोषणा गरेको नेता ठाकुरले बताउनुभयो । युएईलाई जितेपछि सर्वाधिक दुई खेलाडीलाई जनही ५० हजारका दरले हस्तान्तरण गरिने उहाँको भनाइ छ ।