इनरुवा समाचारदाता
इनरुवा, कात्तिक १६ गते। भोक्राहा नरसिंह गाउँपालिकाका किसान अहिले आलु रोप्न व्यस्त छन् । धान र जुट खेती गरेका किसानले बाली भित्र्याएपछि अहिले आलु रोप्न व्यस्त भएका हुन् । अहिले भोक्राहा नरसिंहका किसानलाई आलु रोप्नका लागि जग्गा जोत्ने, खन्ने, मल बोक्ने र आलु रोप्ने कामले भ्याइनभ्याइ छ ।
भोक्राहा नरसिंह गाउँपालिका–५ को नरसिंह टपरा क्षेत्रमा किसान एक हजारभन्दा बढी हेक्टर क्षेत्रफल जमिनमा आलु खेती गर्दै आएका छन् । यहाँका किसानको हिउँदे बालीमा मुख्य उत्पादन नै आलु रहेको किसान शिवराम यादवले बताउनुभयो ।
आलुको माग बजारमा उच्च भएपछि किसान थप व्यावसायिक रूपमा आलु खेतीमा लागेका स्थानीय किसान मनोजकुमार यादवले बताउनुभयो । नरसिंहका कतिपय किसानले एक सिजनमा पाँच लाख रुपियाँसम्मको आलु उत्पादन गरेर बिक्री गर्ने गरेको उहाँको भनाइ छ । गाउँको आलु जिल्ला सदरमुकाम इनरुवा हुँदै अन्य मुख्य तरकारी बजारमा बिक्री हुने गरेकोले बजारको अभाव नभएको अर्का किसान मिथलेश यादवको कथन छ ।
विगतमा परम्परागत पुरानो आलुको बिउ लगाउँदै आएका किसान अहिले नयाँ जातको बिउ लगाउन सुरु गरेका छन् । यसले आलुको उत्पादन बढाउने भएको छ । सुनसरीमा कुल आलु उत्पादनको झन्डै ३० प्रतिशत भोक्राहा नरसिंहमा उत्पादन हुने गरेको कृषि शाखाको दाबी रहेको छ ।