• २३ वैशाख २०८१, आइतबार

लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)

blog

जनसाङ्ख्यिक लाभ र यसका फाइदा 

१. जनसाङ्ख्यिक लाभ भनेको के हो ? नेपालले जनसाङ्ख्यिक लाभको अवस्थाबाट फाइदा लिन के गर्नुपर्ला ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।

जनसङ्ख्याको उमेरगत संरचनाबाट प्राप्त अवसरलाई मुलुकको आर्थिक सामाजिक विकासमा उपयोग गरी सिर्जना हुन सक्ने लाभ नै जनसाङ्ख्यिक लाभ हो । कुनै मुलुकको जनसाङ्ख्यिक संरचनामा आश्रित जनसङ्ख्याको अनुपात न्यून एवं सव्रिmय जनसङ्ख्याको अनुपात उच्च रहँदा अर्थतन्त्रमा श्रम आपूर्ति सहज र सस्तो भई तीव्र आर्थिक सामाजिक विकासमार्फत जनसाङ्ख्यिक लाभ आर्जन गर्न सकिन्छ । घट्दो प्रजनन दरका कारण प्राप्त हुने जनसाङ्ख्यिक लाभको अवस्था निश्चित समयका लागि मात्र रहने हुँदा यसलाई मुलुकको आर्थिक सामाजिक विकासका लागि अवसरको झ्यालका रूपमा लिने गरिन्छ ।

जनसाङ्ख्यिक लाभको अवस्थाका विशेषताहरू यस प्रकार हुन्छन् ः

शारीरिक र आर्थिक रूपमा सक्रिय जनसङ्ख्या (१५–६४ वर्ष उमेर समूह) को अनुपात उच्च रहने,

उत्पादनका लागि श्रम शक्तिको पर्याप्त 

उपलब्धता रहने,

आश्रित जनसङ्ख्याको अनुपात न्यून हुँदा राज्यलाई कम आर्थिक भार पर्ने,

बढ्दो उत्पादकत्व, नवप्रवर्तन र आर्थिक उपलब्धि हासिल गर्ने अवसर प्राप्त हुने,

उच्च बचत र उच्च लगानीको सम्भावना रहने,

महिलाको श्रम सहभागिता दर बढ्न सक्ने,

घट्दो प्रजनन दरका कारण सिर्जित जनसाङ्ख्यिक सङ्क्रमणकालसँगै मुलुकको आर्थिक सामाजिक विकासका लागि सीमित अवधिको सुनौलो अवसरका रूपमा रहने ।

जनसाङ्ख्यिक लाभको अवस्थाबाट फाइदा लिने उपाय

विगत तीन दशकको अवधिमा नेपालको जनसाङ्ख्यिक संरचनामा तीव्र परिवर्तन देखिएको छ । खास गरी घट्दो प्रजनन दर, घट्दो मृत्युदर र घट्दो जनसङ्ख्या वृद्धिदरका कारण देखा परेको जनसाङ्ख्यिक लाभको अवस्थालाई सदुपयोग गरी मुलुकको तीव्र आर्थिक सामाजिक विकास गर्न देहायका उपायहरू 

अपनाउनु पर्दछ :

गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि लगानी बढाउने,

स्वास्थ्य सेवालाई सहज, सर्वसुलभ, भरपर्दो र गुणस्तरीय बनाउँदै स्वस्थ र सक्रिय जनशक्ति तयार गर्न जोड दिने,

ज्ञानमा आधारित समाजको मागलाई पूरा गर्न स्टेम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) शिक्षालाई प्रवर्धन गर्ने,

सिपमूलक र व्यावसायिक शिक्षामा जोड दिने,

खानेपानी, सरसफाइ, खाद्य तथा पोषण सुरक्षामा जोड दिने,

भविष्यको गुणस्तरीय मानव संशाधन विकासका लागि पूर्वबाल्यावस्थाको शिक्षा, स्वास्थ्य, पोषण र सरसफाइलाई विशेष ख्याल गर्दै लगानी बढाउने,

बालबालिका, महिला र युवामा लगानी बढाउने,

जनसङ्ख्याको सबै वर्गलाई समेट्दै जनसाङ्ख्यिक लाभको पूर्ण उपयोग गर्न लैङ्गिक समानता र सामाजिक समावेशितामा जोड दिने,

वित्तीय साक्षरता बढाउँदै आन्तरिक बचतलाई प्रोत्साहन गर्ने र बचत परिचालनबाट लगानी जुटाउने,

उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गरी उत्पादकत्व बढाउने,

रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने,

स्वच्छ, सक्षम र भ्रष्टाचारमुक्त सरकारी संयन्त्र निर्माण गरी नीति निर्माण र कार्यान्वयन तीव्र पार्ने,

तथ्यमा आधारित नीति निर्माण र कार्यान्वयनमा जोड दिने,

ढिलो विवाह र ढिलो सन्तान जन्माउन प्रोत्साहन गरी जनसाङ्ख्यिक लाभ लिने अवसरको झ्याललाई तन्काउन सकिने हुँदा सो अनुसारका नीति तर्जुमा गरी लागु गर्ने,

अन्त्यमा, कुनै पनि मुलुकका लागि जनसाङ्ख्यिक लाभको अवस्था सधैँ रहिरहन सक्दैन । यो मुलुकका लागि निश्चित समयसम्म स्वर्णिम अवसरको रूपमा रहेको हुन्छ । यस अवस्थामा सरकारले आश्रित जनसङ्ख्याको सुरक्षा र संरक्षणमा न्यून लगानी गरे पनि हुने र अन्य क्षेत्रमा सरकारी लगानी बढाउन सक्ने अवसर प्राप्त हुन्छ । जनसाङ्ख्यिक लाभको अवस्थाबाट मुलुकले फाइदा लिन सरकारले निरन्तर रूपमा जनसाङ्ख्यिक तथ्याङ्क र सोको प्रवृत्तिलाई विश्लेषण गरी सो अनुसार आर्थिक सामाजिक नीति निर्माण र कार्यान्वयनमा जोड दिनु पर्दछ ।


२. विभाज्य कोष भन्नाले के बुझिन्छ ? वित्तीय सङ्घीयता कार्यान्वयनको सन्दर्भमा प्रचलनमा ल्याइएका विभाज्य कोष खाताहरूबारे जानकारी दिँदै विभाज्य कोषमा रकम जम्मा गर्ने कार्यविधि उल्लेख गर्नुहोस् ।

राजस्व बाँडफाँट र प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीबापतको रकम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबिच बाँडफाँट गर्ने प्रयोजनका लागि त्यस्तो रकम जम्मा गर्न नेपाल सरकारले सञ्चालनमा ल्याएका कोषलाई विभाज्य कोष भनिन्छ । नेपाल सरकारले सङ्कलन गरेको राजस्व सङ्घ, प्रदेश र स्थानीय तहबिच बाँडफाँट हुने संवैधानिक व्यवस्था तथा मूल्य अभिवृद्धि कर, आन्तरिक उत्पादनबापतको अन्तःशुल्क र प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी रकम सङ्घ, प्रदेश तथा स्थानीय तहबिच बाँडफाँट हुने कानुनी व्यवस्था कार्यान्वयन गर्न विभाज्य कोषको अवधारणा कार्यान्वयनमा ल्याइएको छ । सङ्घीय विभाज्य कोष, प्रदेश विभाज्य कोष र स्थानीय विभाज्य कोष गरी तीन प्रकारका विभाज्य कोष सञ्चालनमा रहेका छन् । 

विभाज्य कोष खाताहरू

विभाज्य कोषहरू सञ्चालनका लागि महालेखा नियन्त्रक कार्यालयको नाममा नेपाल राष्ट्र बैङ्कमा निम्न तीन प्रकारका खाता रहने व्यवस्था सरकारी कारोबार निर्देशिका, २०७६ मा रहेको छ । यी खाताहरू नेपाल सरकारले सञ्चालन गर्ने भएकाले क–समूह अन्तर्गत रहेका छन् ।

क) क–४.१ सङ्घीय विभाज्य कोष खाता

क–४.१.१ सङ्घीय विभाज्य कोष खाता (मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क)

क–४.१.२ सङ्घीय विभाज्य कोष खाता (प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी)

ख) क–४.२ प्रदेश विभाज्य कोष खाता

क–४.२.१ प्रदेश विभाज्य कोष खाता (मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क)

क–४.२.२ प्रदेश विभाज्य कोष खाता (प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी)

ग) क–४.३ स्थानीय तह विभाज्य कोष खाता 

क–४.३.१ स्थानीय तह विभाज्य कोष खाता (मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क)

क–४.३.२ स्थानीय तह विभाज्य कोष खाता (प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी)

विभाज्य कोषमा रकम जम्मा गर्ने कार्यविधि

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनमा लाग्ने अन्तःशुल्क तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी विभाज्य कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ । नेपाल सरकारले सञ्चालनमा ल्याएको राजस्व व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त विवरण र राजस्व सङ्कलन गर्ने बैङ्कहरूले पेस गरेको प्रतिवेदनसमेतका आधारमा नेपाल राष्ट्र बैङ्कले देहायबमोजिमका कोषमा रकम जम्मा गरी हिसाब मिलान गर्ने गर्दछ ।

मूल्य अभिवृद्धि कर र अन्तःशुल्क रकम नेपाल राष्ट्र बैङ्कमा मलेनिकाको नाममा रहेको क–४.१.१ सङ्घीय विभाज्य कोष खातामा मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट्टिने गरी जम्मा गर्ने,

उक्त खाताबाट १५÷१५ प्रतिशतले हुन आउने रकम मलेनिकाको नाममा सञ्चालनमा रहेको प्रदेश विभाज्य कोष खाता (क–४.२.१) र स्थानीय तह विभाज्य कोष खाता (क–४.३.१) मा जम्मा गर्ने,

बाँकी ७० प्रतिशत रकममध्ये मुअकर र अन्तःशु्ल्कबापत सङ्कलित रकम सम्बन्धित राजस्व शीर्षकमा लेखाङ्कन हुने गरी मलेनिकाको कोडमा दैनिक रूपमा राजस्व व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि गर्ने,

प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीबापतको रकम नेपाल राष्ट्र बैङ्कमा मलेनिकाको नाममा रहेको प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीसँग सम्बन्धित विभाज्य कोष खाता– रोयल्टी (क–४.१.२) मा जम्मा गर्ने,

उक्त रकममध्ये नेपाल राष्ट्र बैङ्कमा मलेनिकाको नाममा सञ्चालनमा रहेको प्रदेश विभाज्य कोष खाता–रोयल्टी (क–४.२.२) र स्थानीय तह विभाज्य कोष खाता– रोयल्टी (क–४.३.२) मा २५/२५ प्रतिशतले हुन आउने रकम जम्मा गर्ने,

अन्त्यमा, अन्तरसरकारी वित्तीय सम्बन्धलाई विश्वसनीय बनाउन राजस्व र रोयल्टी बाँडफाँटसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई इमानदारीका साथ पालना गर्नु पर्दछ । यसले वित्तीय सङ्घीयताका साथै समग्र सङ्घीय शासन व्यवस्थालाई सुदृढ गर्न सहयोग गर्दछ ।


३. नेपालको संविधानमा अध्यादेश जारी हुने र निष्क्रिय हुने अवस्था सम्बन्धमा के कस्ता प्रावधान राखिएको छ ? उल्लेख गर्नुहोस् ।

संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्कालको कानुनी आवश्यकता पूरा गर्न कार्यपालिकाको सिफारिसमा तोकिएको पदाधिकारीबाट जारी भई ऐनसरह मान्यता प्राप्त गर्ने कानुनी दस्ताबेजलाई अध्यादेश भनिन्छ । नेपालको संविधानको धारा ११४ मा सङ्घीय मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट र धारा २०२ मा प्रदेश मन्त्रीपरिषद्को सिफारिसमा सम्बन्धित प्रदेश प्रमुखबाट अध्यादेश जारी हुन सक्ने प्रावधान रहेको छ । 

नेपालको संविधान अनुसार अध्यादेश जारी हुने र निष्क्रिय हुने अवस्था निम्न छन् :

क) अध्यादेश जारी हुने अवस्था :

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन चालु नरहेको र नेपाल सरकारलाई तत्काल केही गर्न आवश्यक परेको अवस्था,

प्रदेश सभाको अधिवेशन चालु नरहेको र प्रदेश सरकारलाई तत्काल केही गर्न आवश्यक 

परेको अवस्था,

ख) अध्यादेश निष्क्रिय वा खारेज हुने अवस्था :

अध्यादेश जारी भएपश्चात् बसेको सङ्घीय संसद्को दुवै सदनमा पेस हुने र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्व्रिmय हुने,

राष्ट्रपतिबाट जुनसुकै बखत खारेज हुन सक्ने,

उल्लिखित कुनै पनि तरिकाबाट खारेज वा निष्क्रिय नभएमा दुवै सदनको बैठक बसेको ६० दिनपछि स्वतः निष्क्रिय हुने,

अध्यादेश जारी भएपश्चात् बसेको प्रदेश सभाको बैठकमा पेस हुने र प्रदेश सभाले स्वीकार नगरेमा स्वतः निष्व्रिmय हुने,

प्रदेश प्रमुखबाट जुनसुकै बखत खारेज हुन सक्ने,

उल्लिखित कुनै पनि तरिकाबाट खारेज वा निष्क्रिय नभएमा प्रदेश सभाको बैठक बसेको ६० दिनपछि स्वतः निष्व्रिmय हुने,

संसदीय प्रक्रिया पूरा नभई केवल कार्यपालिकाको सिफारिसको आधारमा अध्यादेश जारी हुने गर्दछ । यसरी जारी भएको अध्यादेश संविधानतः निष्क्रिय वा खारेज नहुन्जेलसम्म ऐनसरह मान्यता प्राप्त गर्दछ ।

४. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन तथा नियमावलीबमोजिम सार्वजनिक पदाधिकारीले पालना गर्नुपर्ने पदीय वा पेसागत आचरण उल्लेख गर्दै ती आचरण निर्धारण गर्ने निकाय वा अधिकारीबारे जानकारी प्रस्तुत गर्नुहोस् ।

सार्वजनिक प्रशासनलाई जनमुखी र जबाफदेही बनाई सुशासन पाउने नागरिक अधिकारको व्यावहारिक कार्यान्वयन गर्न सुशासन ऐन र नियमावली जारी गरिएको छ । सार्वजनिक पदाधिकारीको असल आचरणले मुलुकमा सुशासन प्रत्याभूत गर्न योगदान गर्ने भएकाले यससम्बन्धी विषयलाई ऐन र नियमावलीमार्फत सम्बोधन गरिएको छ । सुशासन नियमावलीमा व्यवस्था गरिए अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले आफू पदमा बहाल रहँदा देहायका पदीय वा पेसागत आचरणहरू पालना 

गर्नु पर्दछ ।

अनुशासनमा रही इमानदारी र तत्परताका साथ कर्तव्य पालना गर्नुपर्ने,

राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने,

राजनीतिक दलको सदस्यका रूपमा कार्य गर्न नहुने,

सार्वजनिक रूपमा सरकारको आलोचना गर्न नहुने,

कानुनबमोजिमको गोप्यता कायम गर्नुपर्ने,

तोकिएको जिम्मेवारी सम्पादनमा कुनै प्रकारले असर पर्न सक्ने गरी दान, उपहार, चन्दा प्राप्त गर्न र सापटी लिन दिन नहुने,

कम्पनीको स्थापना, सञ्चालन तथा व्यापार व्यावसाय गर्न नहुने,

निर्वाचनमा कुनै राजनीतिक दलको प्रचार गर्ने र समर्थक भई भाग लिन नहुने,

कर्तव्य पालना गर्दा शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने ।

उल्लिखित आचरणहरू देहायका पदाधिकारीका लागि देहायबमोजिमका निकाय वा अधिकारीले तर्जुमा गरी लागु गर्नु पर्दछ । आचरण पालना भए नभएको विषयमा निरन्तर अनुगमनसमेत गर्नु पर्दछ ।

न्यायाधीशका लागि न्याय परिषद्ले,

संवैधानिक निकायका पदाधिकारी तथा त्यस्तो निकायका कर्मचारीका लागि सम्बन्धित संवैधानिक निकायले,

निजामती सेवाका कर्मचारीका लागि नेपाल सरकार मन्त्रीपरिषद्ले वा नेपाल सरकारको अख्तियारी अनुसार केन्द्रीय निकायले,

अदालतमा कार्यरत निजामती कर्मचारीका लागि सर्वोच्च अदालतले,

सरकारी वकिल तथा सरकारी वकिलको कार्यालयमा कार्यरत कर्मचारीका लागि महान्यायाधिवक्ताले,

प्रचलित कानुनबमोजिम गठन भएका सङ्गठित संस्थाका प्रमुखका लागि सम्बन्धित मन्त्रालयले र अन्य कर्मचारीका लागि सम्बन्धित 

सङ्गठित संस्थाले,

संसद् सचिवालयका कर्मचारीका लागि सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले,

अन्य सार्वजनिक पद धारण गरेको व्यक्तिका लागि सम्बन्धित मन्त्रालयले । 

अन्त्यमा, आचरणका नियमहरू सार्वजनिक पदाधिकारीको काम, कर्तव्य, व्यवहार र निर्णय निर्माणलाई सही दिशा निर्देश गर्न सहयोगी साबित हुन्छन् । सुशासन कायम गर्नका लागि सार्वजनिक पदमा बहाल रहेका पदाधिकारीले तोकिएबमोजिमका पदीय वा पेसागत आचरण पालना गर्नु आवश्यक मानिन्छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले जुनसुकै कारणले अवकाश प्राप्त गरेको अवस्थामा पनि कानुनबमोजिम गोप्य राख्नुपर्ने विषय सधैँ गोप्य राख्न सक्नु पर्दछ ।


५. नेपालको संविधानमा उल्लेख भएको राज्यको सामाजिक तथा सांस्कृतिक उद्देश्य उल्लेख गर्नुहोस् ।

 नेपालको संविधानको धारा ५० मा राज्यका निर्देशक सिद्धान्तहरू उल्लेख गरिएको छ । मुलुकको राजनीतिक, सामाजिक तथा सांस्कृतिक, आर्थिक र अन्तर्राष्ट्रिय सम्बन्धका विषयलाई निर्देशित गर्ने गरी राज्यका निर्देशक सिद्धान्तहरू तय गरिएको छ । 

राज्यका निर्देशक सिद्धान्त अन्तर्गत उल्लेख भएको राज्यको सामाजिक तथा सांस्कृतिक उद्देश्य यस प्रकार रहेको छ ः

धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारको विभेद, शोषण र अन्यायको अन्त्य गर्ने,

सभ्य र समतामूलक समाज निर्माण गर्ने,

राष्ट्रिय गौरव, लोक जनपक्षीयता, श्रमको सम्मान, उद्यमशीलता, अनुशासन, मर्यादा र सहिष्णुतामा आधारित सामाजिक सांस्कृतिक मूल्यहरूको विकास गर्ने, सांस्कृतिक विविधताको सम्मान गर्ने,

समाजमा सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्यता कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने ।

उल्लिखित निर्देशक सिद्धान्तहरू राज्य सञ्चालनको क्रममा सरकारले सामाजिक तथा सांस्कृतिक नीति, कानुन, योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्दा मार्गदर्शनका रूपमा ग्रहण गर्नु पर्दछ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा