• १२ मंसिर २०८१, बुधबार

स्वास्थ्य एकाइद्वारा टेलिमेडिसिन सेवा सुरु

blog

चौगानफया स्वास्थ्य इकाईमा टेलिमेडिशिन सेवा प्रदान गरिँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, कात्तिक १४ गते । दुर्गमको एउटा स्वास्थ्य संस्थाले बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरु गरेको छ । स्वास्थ्यकर्मीद्वारा सेवा प्रदान भइरहेको बेला बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्नका लागि आधार नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सो सेवा प्रदान गर्न लागिएको हो ।
सिमकोट गाउँपालिका–७ को चौगानफया गाउँका प्रेमबहादुर शाहीले गाउँको सामुदायीक स्वास्थ्य एकाइले बिरामीहरुका लागि हरेक हप्ताको शनिबार दुई घण्टा टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीहरुलाई सहज भएको बताउनुभयो ।

उहाँले दुर्गम गाउँका स्वास्थ्य संस्थाहरुमा काठमाडौंका विशेषज्ञ चिकित्सकसँग उक्त सेवा बिरामीले पाउन थालेपछि धेरै सहज भएको बताउनुभयो । उक्त स्वास्थ्य एकाइका स्वास्थ्कर्मी ज्ञानबहादुर शाहीले टेलिमेडिशिन सेवा हरेका हप्ताको शनिबार बाह्रदेखि दुई बजेसम्म बिरामीका लागि सेवा प्रदान गर्ने गरिएको बताउनुभयो ।

उहाँले स्वास्थ्य एकाइमा स्वास्थ्यकर्मीले बिराम र त्यसका लक्षणहरु सोध्ने र अनलाइन वा मोवाइलमा कल गरेर काठमाडौंमा रहनुभएका विशेषज्ञ चिकित्सक नवीन बाँस्तोलासँग सम्पर्क गरेर सेवा लिने गरिएको बताउनुभयो ।

चिकित्सकले लक्षण र रोगको बारेमा जानकारी पाएपछि औषधि र बिरामीले बार्नुपर्ने खानेकुरा र अन्य उपाय बताउँदै  आउनुभएको उहाँले बताउनुभयो ।

स्वास्थ्य संस्थामा बिरामीका लागि औषधि उपलब्ध नभए आधार नेपालले काठमाडौंबाट चिकित्सकको प्रिसकिप्सन अनुसार औषधि खरिद गरेर स्वास्थ्य एकाइमार्फत बिरामीलाई उपलब्ध गराउने व्यवस्था गर्ने गरिएको छ । यो सेवा सुरु भएयता चौगानफया गाउँका ४० जना बिरामीले उपचार सेवा लिन सफल भएको र हालसम्म कसैलाई जिल्ला अस्पताल र बाहिर रिफर गर्नु नपरेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले बताउनुभयो ।

सेवा निक्कै उपलब्धिमूलक भएको बताउँदै उहाँले अन्य स्वास्थ्य संस्थाहरुमा समेत सेवा विस्तार गर्ने तयारीमा शाखा रहेको बताउनुभयो । यसका लागि बिरामी र स्वास्थ्य एकाइले कुनै शुल्क भने तिर्नुपर्दैन । यसबाट दीर्घ रोगका बिरामीहरुलाई निक्कै सहज भएको छ भने आवश्यक पर्ने आर्थिक स्रोतको व्यवस्था भने आधार विकास नेपालले सहयोग गर्दै आएको छ । न्यून आर्थिक अवस्थाका बिरामीका लागि यो सेवाले उपचारमा सघाउ पुर्‍याएको छ ।