• ७ जेठ २०८१, सोमबार

दशैँमा खसी, बोका र च्याङ्ग्राको व्यापार खस्कियो, सहुलियतको पनि बिकेन

blog

काठमाडौं,कात्तिक १४ गते । गतवर्षको तुलनामा यसवर्ष खसी, बोका, भेडा तथा च्याङ्ग्राको व्यापार खस्किएको छ । यस वर्षको दशैँमा उपभोक्ताले मासुको खपत घटाएको व्यवसायीको भनाइ छ । 

कलङ्की खसीबजारका व्यवस्थापक जीवनराज खतिवडाका अनुसार यसर्ष खसी,बोका तथा च्याङ्ग्राको व्यापार २५ प्रतिशतले घटेको बताउनुहुन्छ । कलङ्की खसीबजारबाट मात्रै अघिल्लो वर्षमा २७ हजार खसी, बोका तथा च्याङ्ग्रा बेचेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, गतवर्ष कलङ्कीबाट मात्र २७ हजार खसी,बोका तथा च्याङ्ग्रा बिक्री हुन्थ्यो, यसपालि मुस्किलले २१ हजार बिक्री भएका छन् । 

अघिल्ला वर्षको दशैँमा काठमाडौं उपत्यकामा ५५ हजार खसी,बोका, भेडा, राँगा र च्याङग्रा बिक्री भएकोमा यो वर्षको दशैँमा घटेर ४५ हजार मात्र बिक्री भएको उहाँको भनाइ छ । यस वर्षको दशैँमा मासु काटेर बिक्री गर्ने पसलहरुमा समेत भिडभाड कम देखिएको उहाँ बताउनुहुन्छ । आर्थिक मन्दीको असरले काठमाडौंमा मात्र नभई देशैभर नै खसी, बोका तथा च्याङ्ग्राको व्यापार घटेको खतिवडाको भनाइ छ । 

सरकारकै खसी, बोका पनि बिकेनन्

दशैँमा उपभोक्तालाई सहुलियत दिन सरकारी स्वामित्वको खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याउका खसी, बोका तथा च्याङ्ग्रा पूर्ण बिक्री हुन सकेनन् । दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका दुई हजार २०१ वटा खसी, बोका तथा च्याङ्ग्रामध्ये एक हजार ९०० बिक्री भएका छन् 

खाद्यले घटस्थापनादेखि खसी, बोका तथा च्याङ्ग्रा बिक्री सुरु गरेको थियो । व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस वर्ष एक हजार ६५९ खसी, बोका काठमाडौं ल्याइएको थियो भने ५४२ च्याङ्ग्रा खरिद गरी काठमाडौं ल्याइएको थियो । सुवेदीले बताएअनुसार कम्पनीको तर्फबाट गतवर्षको तुलनामा यसवर्ष बढी खसी,बोका तथा च्याङ्ग्रा बिक्री भएका छन् । 

सूचना अधिकारी सुवेदीका अनुसार गतवर्ष एक हजार ६०० को हाराहारीमा मात्र खसी, बोका तथा च्याङ्ग्रा विक्री भएका थिए । यसवर्ष गतवर्षको तुलनामा ३०० बढीले बिक्री भएका हुन् । तर समग्रमा यसवर्ष गतवर्षको तुलनामा खसी, बोका तथा च्याङ्ग्राको व्यापार घटेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, गतवर्षको तुलनामा यस वर्ष खाद्य कम्पनीले ल्याएका खसी, बोका तथा च्याङ्ग्राको बिक्री बढी भएको छ । समग्रमा अन्य विक्रेताहरुको समेत गणना गर्दा व्यापार कम भएको छ । 

अहिले देशमा रहेको आर्थिक मन्दीको असर खसी, बोकाको खरिदविक्रीमा समेत परेको उहाँको भनाइ छ । 

बाँकी रहेका खसी, बोका तथा च्याङ्ग्राको मूल्य क्रमश ः ६०० र एक हजार १६० रुपियाँमा तोकिएको छ । यसअघि खसी,बोका तथा च्याङ्ग्राको मूल्य क्रमशः ६५० र एक हजार २२५ रुपियाँ थियो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।