काठमाडौं, कात्तिक १३ गते । नेपाल क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताउनुभएको छ । आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट छनोटअन्तर्गत एशिया क्वालिफायरको पहिलो खेलमा सोमबार सहज जित निकालेपछि कुशलले सबै खेल फाइनलसरह नै खेल्ने प्रतिक्रिया दिनुभएको हो ।
उहाँले सबै खेल फाइनल जसरी खेल्ने लक्ष्य रहेको पनि उल्लेख गर्नुभयो । पहिलो खेलमा सबै खेलाडीले राम्रो गरेको उल्लेख गर्नुहुँदै कुशलले हरेक खेल फाइनल जसरी खेल्ने धारणा राख्नुभयो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४५ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै जारी विश्वकप छनोटमा सुखद् सुरुवात गरेको छ । नेपालको जितमा कुशलले ४८ बलमा ७५ रन बनाउनुभयो । उहाँको इनिङमा आठ चौका र दुई छक्का रह्यो ।
नेपाललाई जितका लागि पाँच रन आवश्यक हुँदा उहाँ अन्ततः कृष्णको बलमा आउट हुनुभयो । तर लगत्तै ब्याटिङ गर्न आउनुभएको कुशल मल्लले पहिलो बलमा नै छक्का प्रहार गर्नुहुँदै २१ बल अगावै जित सुरक्षित गराउनुभयो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफ्ना प्रशिक्षक मोन्टी देसाईको लगातारको भरोसालाई सही सावित गर्न सकेकोमा खुशी लागेको बताउनुभयो ।
उहाँले पछिल्ला खेलमा आफ्नो प्रदर्शन राम्रो हुन नसके पनि प्रशिक्षक देसाई आफूमाथि लगातार विश्वास गरिरहेको पनि उल्लेख गर्नुभयो । मुलपानीमा पछिल्ला खेलहरू आफ्ना लागि राम्रो नभए पनि प्रशिक्षक मोन्टी देसाईले विश्वास गरिराख्दा यस किसिमको प्रदर्शन सम्भव भएको पनि धारणा राख्नुभयो ।
कुशलले सिंगापुरविरुद्ध ७४ रनको अर्धशतक प्रहार गर्नुभएको थियो । गत त्रिकोणात्मक श्रृङ्खलाको फाइनलमा पनि उहाँले संयुक्त अरब इमिरेट्स(युएई)सँग ५० रनको अर्धशतकीय इनिङ खेल्नुभएको थियो । लगातार अर्धशतक प्रहार गर्नुभएको कुशलले ढेड वर्षपछि पहिलो विकेटका लागि आसिफ सेखसँग ८४ रनको अर्धसतकीय साझेदारी पनि गर्नुभएको छ ।
कुशलले आसिफ शेखसँग पछिल्ला दुई/तीन वर्षदेखि नियमित ओपनिङ गरिरहेकाले एकअर्काप्रति राम्रो कमिनिकेसन हुने गरेको बताउनुभएको छ । तर सोमबार आसिफसँग ढेड वर्षपछि अर्धशतकीय साझेदारी गर्न सक्दा निकै खुशी भएको पनि प्रतिक्रिया उहाँले दिनुभयो । सिंगापुरसँगको खेल अगाडि नेपालका अलराउण्ड दीपेन्द्रसिंह ऐरी घाइते हुन पुग्नुभएको थियो अभ्यासका क्रममा गोलीगाठोमा चोट बोकेका दीपेन्द्रको पुनरागमनबारे अहिले नै केही भन्न नसकिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
कुशलले वर्षको अन्तिम प्रतियोगिताका रूपमा रहेको विश्वकप छनोटमा नेपालका महत्ववपूर्ण अलराउण्डर दीपेन्द्रसिंह चोटग्रस्त हुँदा निकै दुःख लागेको बताउनु भयो । विहान फिल्डिङ गर्दा दीपेन्द्रको एन्कलमा चोट लागेको थियो । उनी चोट बोकेर बाहिरिनु पर्दा धेरै दुःख लागेको छ । नेपाली राष्ट्रिय टोलीका अलराउण्डर गुल्सन झाले शतप्रतिशत आफूहरू विश्वकपमा छनोट हुने बताउनु भयो । नेपालको इनिङमा आसिफले २७ रन र कप्तान रोहित पौडेलले २४ बलमा ३५ रन बनाए पछि नेपालले सहज जित निकालेको थियो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रनको मध्यम योगफल खडा गर्यो । खराब शुरुवात गरेको सिंगापुरका लागि ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रनको योगदान दिए । मनप्रीत सिंहले २४ रन र आर्यावीर चौधरीले ३७ रन जोडे । त्यसबाहेक अन्य ब्याटर भने क्रिजमा जम्न सकेनन् । नेपालको इनिङमा अविनाश बोहोराले तीन विकेट तथा सन्दीप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल जित्दै सुखद् शुरुवात गरेको छ ।