• १५ मंसिर २०८१, शनिबार

शान्ति, धार्मिक सहिष्णुता कायम राख्न महायज्ञ

blog

अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक १३ गते ।
 शान्ति, धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले विश्व हिन्दु महासङ्घ स्याङ्जा शाखाले महायज्ञ गर्ने भएको छ । महासङ्घ स्याङ्जाले वेदको उजागर भएको तनहुँको दमौलीमा रहेको वेदआश्रम स्थलमा स्याङ्जा शाखाले महायज्ञ गर्ने भएको हो ।

यही कात्तिक १६ देखि २३ गतेसम्म हुने महायज्ञको विश्व हिन्दु महासङ्घका केन्द्रीय सदस्य समेत रहनु भएका भागवतालङ्कार पण्डित नेत्रप्रसाद पराजुलीले कथा वाचन गर्नु हुने छ ।

महायज्ञ सम्पन्न गर्न विश्व हिन्दु महासङ्घ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको संयोजकत्वमा एक हजार एक सदस्यीय रहेको मूल आयोजक समिति गठन गरिएको छ ।

विश्व शान्ति तथा सामाजिक सदभावका लागि श्रीमदभागवत महायज्ञ तनहुँमा गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका महासचिव पदमप्रसाद पाण्डेले बताउनुभयो । वेद अनुयायी प्रतिष्ठान नेपाल, व्यास नगरपालिका तनहुँ र विश्व हिन्दु महासङ्घ तनहुँ सहयोगीका रूपमा रहेको पाण्डेले बताउनुभयो ।

महायज्ञको तयारी पूरा भइसकेको बताउँदै पाण्डेले देशभरका हिन्दु धर्मालम्बीहरुलाई निमन्त्रण, भेटघाट र अन्य तयारीका कार्यक्रम गर्ने बताउनुभयो ।

महायज्ञको उद्घाटन नेपाल ऋषि, संस्कृतविद् डा जगमान गुरुङले गर्नु हुने छ । महायज्ञ सफल बनाउन अनन्तराज शर्माको संयोजकत्वमा आर्थिक उपसमिति, पुष्पकमल रेग्मीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, भुपराज बगालेको संयोजकत्वमा अन्तर्राष्ट्रिय समन्वय उपसमिति, श्रीकृष्ण सिग्देलको संयोजकत्वमा सञ्चार समन्वय उपसमिति लगायतका उपसमिति निर्माण गरिएको छ ।