• २१ असार २०८१, शुक्रबार

अखाद्य वस्तु मिसावट भएको चामल खाँदै उपभोक्ता

blog

बोमलाल गिरी 

नवलपुर, कात्तिक १३ गते । जिल्ला प्रशासन कार्यालय नवलपुरको अगुवाइमा तीन हप्ताअघि असोज २३ गते जिल्लाका विभिन्न पसलको अनुगमन गरियो । समीक्षा इन्टरप्राइजेज कावासोतीमा अनुगमनपछि पवलपुत्र खाद्य उद्योग प्रालि वीरगन्जले उत्पादन गरेको एप्पल ब्रान्डको सोना मन्सुली चामलमा अखाद्य वस्तु मिसावट भएको भन्दै बिक्रीवितरणमा प्रतिबन्ध लगाइयो । प्रतिबन्धपछि समीक्षा इन्टरप्राइजेजमा रहेका पाँच सय ७७ बोरा चामल गोदाममै थन्किएका छन् ।  चामलमा अखाद्य वस्तुको मिसावट भएको हो/होइन अझै यकिन भइसकेको छैन । चामलको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँमा नमुना पठाएको २२ दिन भइसकेको छ । २२ दिनसम्म पनि परीक्षणको रिपोर्ट नआएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख नगेन्द्र पौडेलले बताउनुभयो । 

बजारमा अखाद्य वस्तु मिसावट भएका उक्त ब्रान्डका चामल भने छ्यापछ्याप्ती बिक्री भइरहेको पाइएको छ । नवलपुरमा एप्पलको सोना मन्सुली चामल भण्डारी किसाना पसल आरुणखोला, खनाल स्टोर्स कावासोती र समीक्षा इन्टरप्राइजेज कावासोतीले बिक्रीवितरण गर्ने गरेका छन् ।  

अखाद्य वस्तु मिसावट भएको भन्दै समीक्षा इन्टरप्राइजेजमा मात्र अनुगमन गरी बिक्रीवितरण गर्न प्रतिबन्ध लगाए पनि अन्य पसलले निर्बाध यो चालम बिक्री गरिरहेका छन् । यता प्रशासन भने यस्तो शङ्कास्पद चामल भेटिँदा पनि अन्य पसलमा न अनुगमन गरेको छ, न त्यस्ता चामल नबेच्न नै भनेको छ । यसले गर्दा उपभोक्ता भने त्यही चामलको उपभोग गरिरहेका छन् । 

समीक्षा इन्टरप्राइजेजले भने समयमै नमुनाको परीक्षण रिपोर्ट नआउँदा आफूहरू समस्यामा परेको बताएको छ । इन्टरप्राइजेजका प्रोप्राइटर सीताराम चुवाईले भन्नुभयो, “२२ दिनदेखि पाँच सय ७७ बोरा चामल गोदाममा थन्किएको छ, नबेच्न पाइएको छ, न फिर्ता पठाउन नै । यसले गर्दा रोटेसन गर्नै गाह्रो भयो ।”

पर्यटन तथा उद्योग कार्यालयले पनि छिटो रिपोर्ट पठाइदिनका लागि ताकेता गरिरहेको बताएको छ । कार्यालयका प्रमुख नगेन्द्र पौडेलले आफूहरूले पटक पटक फोन गरेर छिटो परीक्षण रिपोर्ट पठाइदिन आग्रह गरे पनि कार्यालयले नसुनेको गुनासो गर्नुभयो । “हामीले भनेर मात्र रिपोर्ट आएन, त्यसैले जिल्ला प्रशासन कार्यालयलाई नै ताकिता गर्न भनेका छौँ,” पौडेलले भन्नुभयो । 

सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेकै उपस्थितिमा अनुगमन भएर चामल बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको थियो । परीक्षण रिपोर्ट छिटो आउनुपर्ने तर नआउँदा कारबाही प्रक्रिया अघि बढाउन नसकिएको सहायक प्रजिअ लामिछानेले बताउनुभयो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँले चामलको नमुना काठमाडौँ पठाएको जनाएको छ । प्रदेश कार्यालय पोखरा प्रमुखविहीन भएकाले नमुना काठमाडौँ पठाइएको कार्यालयका प्रमुख प्रशान्त पोख्रेलले बताउनुभयो । 

मध्यबिन्दु नगरपालिकाको आरुङखोला कोटथरमा असोज २१ गते गरिएको बजार अनुगमनका क्रममा चामलमा अखाद्य वस्तु फेला परेपछि त्यसको वितरक कम्पनी समीक्षा इन्टरप्राइजेज, कावासोतीमा २३ गते अनुगमन गरिएको थियो । समीक्षा इन्टरप्राइजेजको गोदाममा रहेका बोराको चामलमा पनि त्यस्तै अखाद्य वस्तु फेला परेपछि बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको थियो । चामलमा मिसावट गरिएको वस्तुको दाना बोराको अन्य चामलभन्दा सेतो र आकारमा ठुलो देखिनुका साथै चपाउँदा भने प्लास्टिक जसरी तन्किने र पानीमा हाल्दा तैरिने गरेको प्रशासनको भनाइ छ ।