• १५ मंसिर २०८१, शनिबार

तालवाराही मन्दिरको पुनर्निर्माण सुरु

blog

लेखनाथ समाचारदाता

लेखनाथ, कात्तिक १३ गते । फेवातालको बिचमा रहेको प्रसिद्ध तालवाराही मन्दिरको पुनर्निर्माण थालिएको छ । पुरातत्व विभागको समन्वयमा हुने पुनर्निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य छ । मन्दिर चार रोपनीमा फैलिएको छ । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मन्दिरको जग पूजा गर्दै शिलान्यास गर्नुभएको हो । प्रमुख आचार्यले पोखराको गहना तालवाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताउनुभयो । उहाँले पुरानै स्वरूपमा मन्दिर पुनर्निर्माण गरी आकर्षक सम्पदासहित भावी पुस्ताले समेत अध्ययन गर्ने थलो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नौ करोड रुपियाँ लागतमा मन्दिर पुनर्निर्माण भएपछि तालवाराही अझ आकर्षक र पर्यटकीय केन्द्र बन्ने छ । यसका लागि महानगर आवश्यक समन्वय र साथ दिन तयार छ ।” 

२०७२ सालको भूकम्पबाट मन्दिर तीन इन्च दक्षिणतर्फ ढल्किएको थियो । मन्दिर ढल्किएपछि ताल वाराहीमन्दिर गुठी व्यवस्थापन समितिले पुनर्निर्माण थालेको हो । समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले यसका लागि पुरातत्व विभागबाट २५ लाख रुपियाँ प्राप्त भएको जानकारी दिनुभयो । स्थानीय, प्रदेश र सङ्घीय सरकार र भक्तजनको सहयोगमा पुरानै स्वरूपमा कलात्मक ढाँचामा मन्दिर बनाइने जानकारी दिनुभयो ।