• १३ असोज २०८१, आइतबार

खसीबोका बिक्री नहुँदा किसान निराश

blog

अमरराज नहर्की  

तनहुँ, कात्तिक १३ गते । दसैँमा खसीबोका बिक्री नहुँदा तनहुँका किसान निराश छन् । चाडबाडमा खसीबोका बिक्री नहुने र बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । बाख्रापालनमा लाग्ने किसान खसीबोका बेचेरै दसैँतिहार जस्ता चाडपर्व टार्ने ध्याउन्नमा हुन्छन् तर यो वर्ष बिक्रीमा समस्या अनि बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका हुन् । 

जिल्लाको ग्रामीण क्षेत्रबाट खसीबोका लिएर सदरमुकाम दमौली, प्रमुख बजार क्षेत्र डुम्रे, आँबुखैरेनी, खैरेनीटार, दुलेगौँडा, भिमाद आइपुगेका किसान आफूले पालेका खसीबोका किन्ने ग्राहक नपाउँदा चिन्तामा परेका हुन् । बाख्रापालनबाट जीविकोर्पाजन गर्ने उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको कृषकले बताएका छन् । 

सबैभन्दा धेरै बिक्री हुने दसैँतिहारको बेला नै बिक्रीमा समस्या परेकाले चिन्तामा परेको सदरमुकाम दमौलीमा खसीबोका बिक्री गर्न ल्याउनुभएका ऋषिङ गाउँपालिका–१, नराङका कृषक शम्भुलाल रानाले बताउनुभयो । आपूmले पालेको र छिमेकीको खरिद गरेर १५ वटा खसी र १० वटा बोका बेच्नका लागि ल्याउनुभएका थापा आठ वटा खसी र छ वटा बोका मात्रै बिक्री भएको बताउनुभयो । प्रतिकिलो जिउँदोको छ सयमा बेच्नुपर्नेमा ५५० रुपियाँको दरले बिक्री गर्दा पनि ग्राहक माउन मुस्किल परेको रानाले बताउनुभयो । 

बाख्रापालन गरेर जीवन धान्नुभएकी ऋषिङ–१ की दिल्लीमाया थापाले मूल्य सोधेर ग्राहक खसीबोका नकिनेरै फर्किरहेको गुनासो गर्नुभयो । सदरमुकाम दमौलीमा बिक्री नभएर अन्य स्थानमा लैजाँदासमेत बिक्री नहुँदा घरखर्च टार्न मुस्किल भएको उहाँले बताउनुभयो । 

राना जस्तै सोही ठाउँका दिलबहादुर राना पनि खसीबोका बिक्री नहुँदा चिन्तामा हुनुहुन्छ । रानाले भन्नुभयो, “केही वर्षयता खसीबोकाको व्यापार हुन सकेको छैन, विगतका दसैँमा सजिलै घरखर्च चलाउँथ्यौँ । आम्दानीको स्रोत बाख्रापालन हो, बिक्री नहुँदा घरखर्च चलाउनै मुस्किल हुने अवस्था आएको छ ।” विगतका वर्षमा खसीबोका किन्ने मान्छे गाउँमै पुग्थे यसपालि बजार ल्याउँदासमेत समस्या परेको रानाले बताउनुभयो । खसीबोका गरी १८ वटा खसी बेच्नका लागि ल्याएकोमा १२ मात्रै बिक्री भएको रानाले जानकारी दिनुभयो । रानाले भन्नुभयो, “तिहारसम्ममा बिक्री हुन्छ कि भन्ने आस छ नत्र सस्तोमा भए पनि बिक्री गर्नुपर्ला ।” 

आर्थिक मन्दीले गर्दा बजारमा चहलपहलमा कमी आउनु तथा आम्दानी पनि कम भएकाले बिक्री कम भएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवीन्द्रकुमार श्रेष्ठले बताउनुभयो । ग्राहकसँग आम्दानी कम हुँदा खर्च गर्न डराएकाले खसीबोका बिक्रीका लागि समस्या परेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । अधिकांश युवा विदेश जाने, भोजभतेर नहुनु, होमस्टेलगायतका पर्यटन क्षेत्र ठप्प हुनुजस्ता कारणले गर्दा मासु खपत घटेकाले कृषकलाई बिक्री गर्न समस्या भएको उहाँले बताउनुभयो । 

गाउँकै मूल्यमा सहरमा खसीबोका पाउँदा मासु व्यवसायी कृषकलाई बिक्री नभएर समस्या परे पनि दमौली बजारमा मासुको व्यवसाय गर्नेलाई भने फाइदा भएको छ । गाउँकै मूल्यमा बजारमा खसीबोका खरिद गर्न पाउँदा सजिलो भएको दमौली मासु व्यवसाय गर्नेको भनाइ छ । व्यास नगरपालिका–२, गणेशमानचोक स्थित बन्दीपुरे कान्छाको मासुपसलका सञ्चालक विष्णु कुँवर (केसी कान्छा) ले दमौली बजारमै आफूले चाहेको मूल्यमा खसीबोका पाएकाले गाउँ जान छाडेको बताउनुभयो ।