• १२ साउन २०८१, शनिबार

पोखरा र एबिसीमा गुटेरेसको स्वागतको तयारी

blog

महासचिव गुटेरेसको भ्रमणको तयारीका लागि जनप्रतिनिधिलाई लिएर एबिसी पुगेको हेलिकोप्टर । तस्बिर: विष्णुबहादुर केसी

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक १३ गते । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस सोमबार दिउँसो पोखरा आउँदै हुनुहुन्छ । नेपाली सेनाको हेलिकोप्टरबाट पोखराको पुरानो विमानस्थलमा अवतरणपछि उहाँ सिधै होटेलतर्फ प्रस्थान गर्नुहुनेछ । 

पोखराका लागि १ः२० मा काठमाडौँबाट प्रस्थान गर्नुहुने महासचिव गुटेरेस १ः५० मा पोखरामा अवतरण हुनुहुनेछ । उहाँलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले विमानस्थलमा स्वागत गर्नुहुने छ ।

फेवाताल पारी रहेको फिस्टेल लजमा उहाँ सोमबार राति बस्ने तय छ । सोमबार २ बजेपछि उहाँका अरु कार्यक्रम छैनन् । यसअघि पनि पोखरा आएका अति विशिष्ट पाहुनाहरू बसेको फिस्टेल लजबाट फेवाताल र हिमालको सुन्दर दृश्य देखिन्छ ।

महासचिव गुटेरेस मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविर(एबिसी) जाने कार्यक्रम छ । बिहान साढे छ बजे आधार शिविरका लागि प्रस्थान गरी उहाँ ६ः ५० मा त्यहाँ पुग्नुहुने छ । त्यहाँ महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण सर्वसाधारणको जनजीवनमा परेका असरबारे सर्वसाधारणसँग समेत कुरा गर्नुहुनेछ ।

राष्ट्रसंघ महासचिवको भ्रमणको तयारीका लागि आइतबार नै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी आधार शिविर पुगिसक्नु भएको छ । अन्नपूर्ण आधार शिविर अन्नपूर्ण गाउँपालिका वडा नं. ११ मा पर्छ । 

त्यहाँको स्थानीय व्यवस्थापनको जिम्मा छोम्रोङ पर्यटन व्यवस्थापन समितिले लिएको छ । गाउँपालिकाले स्थानीय गुरुङ संस्कृति अनुसार महासचिव गुटेरेसलाई स्वागत गर्न लागेको अध्यक्ष केसीले सुनाउनुभयो । 

समितिका सचिव दिलीप गुरुङले महासचिव गुटेरेसको स्वागतको भव्य तयारी भएको जनाउनुभयो । “जलवायु परिवर्तन र त्यसबाट परेका असरबारे हामी उहाँसँग कुरा राख्ने तयारीमा छौँ । अति विशिष्ट पाहुनाको भ्रमणले यहाँ उत्साह छ,” उहाँ भन्नुहुन्छ ।

साढे ७ बजे आधार शिविरबाट उहाँ पोखरा विमानस्थल फर्किनुहुनेछ । विमानस्थलमा पोखराका पत्रकारहरूसँग कुरा गर्ने कार्यक्रम तय छ । सवा ८ बजे उहाँ पोखरा विमानस्थलबाट लुम्बिनी प्रस्थान गर्नुहुनेछ । सन् २०१७ मा संयुक्त राष्ट्र सङ्घको महासचिव भएपछि उहाँ पहिलो पटक नेपालको भ्रमणमा आउनुभएको हो । 

पोखरा महानगरका प्रमुख धनराज आचार्यले विमानस्थलमा गुटेरेसको भव्य स्वागत गरिने जनाउनुभयो । उहाँ भन्नुहुन्छ, “यो भ्रमणले पोखरा र समग्र गण्डकी प्रदेशमै उत्साह छाएको छ । पोखराको पर्यटन प्रवर्द्धनसहित यसको अन्तर्राष्ट्रिय बजारीकरणमा पनि भ्रमणले ठुलो योगदान पुग्छ ।”

महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेले महासचिवको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुत पारिएको जानकारी दिनुभयो ।

विमानस्थलदेखि फिस्टेल गेटसम्मको सडक सिँगारिएको छ । आइतबार सुरक्षा निकायले पोखरा विमानस्थलदेखि फिस्टेल लजसम्म सुरक्षाको पूर्वाभ्यास गरेका छन् । अन्नपूर्ण आधार शिविरमा शुक्रवार नेपाली सेनाको टोली पुगिसकेको छ ।

आधार शिविरमा नेपाली सेनाको श्री नारायण दल गणका क्याप्टेन बाबर प्रताप शाह नेतृत्वको टोली र नेपाल प्रहरी इन्स्पेक्टर भुवन बराम नेतृत्वको टोली सुरक्षाका लागि खटिएका छन् । बेसक्याम्पमा उडानलाई सहज बनाउन दुई हेलिप्याड निर्माण गरिएको छ ।