यदुप्रसाद भट्ट
मनाङ, कात्तिक १३ गते । दसैँतिहारको समयमा मनाङको तिलिचोलगायतका पर्यटकीय क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । खुलेको मौसम र दसैँतिहारको लामो बिदाको समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि यो क्षेत्र पहिलो रोजाइमा पर्न थालेको छ । दसैँमा गाउँ जानुको सट्टा आम्दानी हुने भएकाले पथप्रदर्शक युवाको रोजाइमा पर्यटन क्षेत्र परेको हो ।
गत साता प्रदीप कार्की काठमाडौँदेखि पाँच जनाको विदेशी पर्यटकको टोली लिएर मनाङका विभिन्न स्थानमा प्रस्थान गर्नुभयो । प्राकृतिक सुन्दरताको आनन्द लिँदै हिमालको दृश्यावलोकन गर्नका लागि कार्कीको टोली मनाङ घुम्न आएको हो । उहाँले भन्नुभयो, “पेसाले म पथप्रदर्शक हुँ, पर्यटकीय सिजन पनि सुरु भएको र मौसमले पनि साथ दिएकाले मनाङको तिलिचोलगायतका क्षेत्रमा पर्यटकलाई घुमाउन आएको हुँ ।” कार्कीको यो सिजनमा अधिक समय घुमफिरमै बित्ने गरेको छ । स्नातक सकेपछि बाबाले गर्दै आउनुभएको पेसा नै मन परेकाले एक दशकदेखि यही पेसामा लागिपरेको कार्कीले बताउनुभयो । हरेक वर्ष आफ्नो चाडपर्व हिमालमै हुने गरेको कार्कीले बताउनुभयो ।
अर्का पथप्रदर्शक दीपक अर्यालले यस वर्षको दसैँ हिमालतिरै बिताउनुभयो । अर्याल फूलपातीको दिनदेखि एक टोली लिएर लमजुङ सदरमुकाम बेँसीसहरबाट मनाङ सदरमुकाम चामे हुँदै उपल्लो मनाङ क्षेत्र प्रवेश गर्नुभयो । अर्यालको टोली तिलिचो क्षेत्रमा तीन दिनसम्म घुमघाम गर्ने योजना बनाएर काठमाडौँबाट मनाङ आएको थियो । अर्यालको टोलीले पनि दसैँ हिमालमै बितायो ।
दुई हप्ताअगाडि तिलिचो तालमा वाइफाई जडान भएपछि सो क्षेत्र घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्दै गएको छ । दसैँको समयमा बाह्य पर्यटकको चहलपहल बढी भएको पर्यटन व्यवसायी एवं होटल याक एन्ड यतीका सञ्चालक विनोद गुरुङले बताउनुभयो । उहाँले विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालको अवलोकन गर्न आउने बाह्य पर्यटकको चाप बढेकाले पर्यटन व्यवसायी उत्साहित भएको बताउनुभयो । कोरोनापछि यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको गुरुङले बताउनुभयो । मनाङ प्रवेशद्वारका रूपमा रहेको च्याम्चेबाट दैनिक दुई सयका दरले आन्तरिक पर्यटक मनाङ घुम्न आउने गरेको होटल व्यवसायी एवं समाजसेवी बाबुराम तामाङले बताउनुभयो ।
दसैँको बेला घुम्न रमाउने आन्तरिक पर्यटकको रोजाइमा मनाङ पनि परेको छ । बाह्य पर्यटकका लागि शुल्क तिर्नुपर्ने तथा चेक पोस्टमा अनिवार्य आफ्नो विवरण दर्ता गर्नुपरे पनि आन्तरिक पर्यटकलाई छुट भएकाले कति आन्तरिक पर्यटक मनाङ आएर अवलोकन गरे भन्ने तथ्याङ्क अहिलेसम्म कसैसँग छैन तर प्रत्येक वर्ष मनाङमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको पर्यटन व्यवसायीको भनाइ छ ।
असोज, कात्तिक र मङ्सिरमा अमेरिका, क्यानडा, कोरिया, जापान, फ्रान्स, जर्मनी, अस्ट्रेलियालगायतका देशबाट मनाङ घुम्न आउने गर्दछन् ।