• २१ वैशाख २०८१, शुक्रबार

कहीँ नभएको जात्रा हाँडी गाउँमा (फोटो फिचर)

blog

आइतबार निकालिएको ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, कात्तिक १२ गते । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ जात्रा आज (आइतबार) निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट उक्त जात्रा निकालिन्छ । यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ ।

कहीँ नभएको जात्रा हाँडीगाउँमा मनाउनुपर्ने मुख्य तीन वटा कारण रहेको हाँडीगाउँका स्थानीयवासी सूर्यलाल प्रजापति बताउनुहुन्छ । अन्य रथहरू देवतालाई भित्र राखेर गजुर माथि हुन्छ । तर हाँडीगाउँको जात्रामा गजुर मुनि र देवता माथि रहने गर्दछन् ।

यसैगरी, कहीँ पनि नपाउने एक विशेष प्रजातिको फूल (सी स्वाह) हाँडीगाउँको जात्रामा चाहिन्छ भने एउटा इनार छ जहाँको पानी यही जात्रामा मात्रै चढाइने गरिन्छ । ।

स्थानीयका अनुसार यो जात्रा लिच्छिवीकालका राजाले सुरु गरेको विश्वास रहिआएको छ । किंवदन्तीका अनुसार कुनै समयमा एक राजाका दुई छोरी थिए । उनीहरूको एकै समयमा सुत्केरी हुने समय भयो । दिदीले सुत्केरी गराउन नारायण भगवानको शक्ति आवश्यक रहेको बताए पनि बहिनीले यस कुरामा विश्वास गरेकी थिएनन् । जसकारण, दिदीले सफलतापूर्वक सन्तानलाई जन्म दिए पनि बहिनीको १२ वर्षसम्म पनि सन्तानलाई जन्म दिन सकेकी थिएनन्  । यसका कारण खोज्दै जाँदा रिसाएको नारायण भगवान् हिमालमा तपस्या गरेर बसेका थिए । उक्त भगवानलाई प्रसन्न पार्न कहीँ नभएको जात्रा गरेपछि मात्रै बहिनीले सफलतापूर्वक सुत्केरी गराउन सफल भएका थिए भन्ने विश्वास रहेको छ ।




Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।