• २३ पुस २०८१, मङ्गलबार

दसैँको ऋण तिर्न बालुवामा सुन खोज्दै बोटे समुदाय

blog

बालुवामा सुन चाल्ने चनौटे देखाउँदै बोटे । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की  
दमौली, कात्तिक १२ गते । तनहुँको व्यास नगरपालिका–१०, बोटेगाउँ, कुमालटारीका बोटे समुदाय दसैँमा लागेको ऋण तिर्न बालुवामा सुन खोज्न नदी किनारतर्फ लागेका छन् । “आयो दसैँ ढोल बजाई गयो दसैँ ऋण बोकाई” भन्ने नेपाली उखान जस्तै साहुसँग ऋण मागेर राम्रोसँग दसैँ मनाउने र बालुवामा सुन खोजेर ऋण तिर्ने परम्परा अनुसार बोटेहरू सुन खोज्न हिँडेका हुन् । 

कोजाग्रत पूर्णिमासँगै दसैँ सकिएपछि बोटेहरू सुन खोज्न प्रयोग हुने समान बोकेर  बालुवा चाल्न नदी किनारा तर्फ लागेका हुन् । नदीको बालुवामा सुन खोजेर त्यही सुन सङ्कलन गरी त्यसको विक्रीबाट आएको पैसाले दसैँ लगायत चाड पर्वको ऋण तिर्ने बोटेहरू बताउँछन् ।

पूर्णिमा सकिएलगत्तै दसैँको ऋण तिर्नका लागि केही बोटे नदी किनारतर्फ गइसकेको र केही जाने तयारी गरेको मेखबहादुर बोटेले बताउनुभयो । कालीगण्डकी, बुढीगण्डकी, मर्स्याङ्दी र त्रिशूली नदीको बालुवामा सुनका कणहरू भेटिने हुँदा त्यही सुन खोज्न नदी किनारातर्फ लागेको उहाँले जानकारी दिनुभयो ।

दसैँपछि नदीमा पानीको बहाव पनि कम हुने र बालुवामा सुन खोज्न सहज हुने हुँदा यो मौसम उपयुक्त हुने बालुवामा सुन चाल्नु हुने सोममाया बोटेले बताउनुभयो । नदीमा बालुवाको मात्रा कम भएकाले सुन खोज्न कठिन भएको बोटेहरूले बताएका छन् । “पहिलापहिला बालुवामा सुन धेरै पाइन्थ्यो, हिजोआज त्यति पाइँदैन । त्यसैले पेसाबाटै विस्थापित हुने अवस्था आएको छ,” कर्णबहादुर बोटेले भन्नुभयो ।

बोटे समाजका अध्यक्ष निरज माझीले नदीमा डोजर लगाएर बालुवा झिक्दा बालुवामा सुन पाउन मुस्किल भएको बताउनुभयो । “नदी किनारमा माटो देखिने अवस्थासम्म डोजर लगाएर बालुवा लैजान्छन् । ढुङ्गा पनि कम भएकाले बालुवा अड्किन पाउँदैन अनि सुन कसरी पाइन्छ ?” अध्यक्ष माझीले प्रश्न गर्नुभयो । सुनचाँदी पसलेकहाँबाट ऋण लिई दसैँ मान्ने र सुन खोजेर ऋण तिर्ने बोटेहरूको प्रचलन भएको समाजका अध्यक्ष माझी बताउनुहुन्छ ।

त्रिपाल, ओढ्ने ओछ्याउने र भाँडाकुँडा बोकेर नदी किनार आसपासमा बसेर बोटेहरू सुन खोज्ने गर्छन् । पानी धेरै परेर बाढी ठुलो आएका बेला बालुवामा धेरै सुन पाइने सुकमाया बोटेले बताउनुभयो । “बाढीपहिरो आएर सुन खानीमा धेरै ठक्कर दिँदा बालुवामा सुनको मात्र धेरै हुन्छ,” उहाँले भन्नुभयो । ३२ घर बोटे समुदाय रहेको र केटाकेटी र बूढाबूढीलाई घरमा छोडेर पाखुरीमा बल भएकाहरू सुन खोज्न जाने गरेको समाजका अध्यक्ष माझीले जानकारी दिनुभयो । व्यास नगरपालिका–५, पाटन र व्यास नपा–७, पाथ्राका बोटेहरू पनि सुन खोज्न जाने बोटे समाजले बताएको छ । वैशाखसम्म सुन खोज्ने र एक तोलादेखि डेढ तोलासम्म सुन वार्षिक रूपमा ल्याउने गरेको उनीहरूको भनाइ छ ।

बालुवा चालेर सुन निकाल्ने बोटेहरूको पुर्ख्यौली पेसा भएको र हाल सुन कम पाइने, सुन व्यवसायीले राम्रो मूल्य नदिने लगायतले गर्दा पेसा सङ्कटमा पर्दै गएको बोटे गाउँ नजिकै दुम्सी निवासी शिक्षक श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो । शैक्षिक स्तर कमजोर भएकाले अधिकांश बोटे आर्थिक रूपमा विपन्न रहेको जानकारी दिनुभयो । उनीहरूको सुन खोज्ने प्रविधिलाई पर्यटनसँग जोड्न सक्ने हो भने पर्यटनको नयाँ गन्तव्य हुने र बोटेहरूको जीवनस्तरमा परिवर्तन आउने आचार्य बताउनुहुन्छ । उक्त वडाका निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटा पुर्ख्यौली पेसाबाट हात धुनुपर्ने अवस्था आएकाले सुन खोज्ने आधुनिक प्रविधिको ज्ञान दिने, जथाभाबी डोजर लगाउन दिन नहुने सुझाव दिनुहुन्छ । बालुवामा सुन खोज्ने पेसाबाट जीवन यापनको लागि कठिन भएकोले दुध धेरै दिने जर्सी गाई पालन गरी आम्दानी बढाउनु पर्ने सापकोटा बताउनुहुन्छ ।