काठमाडौं, कात्तिक १२ गते । काठमाडौँ महानगरपालिका–२७ ठमेलस्थित वाल्डो होटलमा बस्दै आएका भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित किङ्स अकबरे रेष्टुरेन्टका सञ्चालक नुवाकोट ककनी गाउँपालिका–१६ घर भएका २७ वर्षीय उमेश लामा समेत तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
उनीहरूलाई ग्रिन टी सस्तोमा मिलाइदिन्छु भन्दै ६ जनाको समूहले होटल अगाडिबाट ट्याक्सीमा सोही महानगरपालिका–१६ माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्याई कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रुपियाँ ट्रान्सफर गरी लुटपाट गरेको भन्ने खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।
सोही सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बालाजु चोकबाट बा. ८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रुपियाँ, मोबाइल ४ थान र एनटिसी तथा एनसिएलको १२ थान सिमकार्डसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।