बोमलाल गिरी
नवलपुर, कात्तिक १२ गते । जिल्ला प्रशासन कार्यालय नवलपुरको अगुवाइमा तीन हप्ताअघि असोज २३ गते जिल्लाका विभिन्न पसलको अनुगमन गरिएको थियो ।
समीक्षा इन्टरप्राइजेज कावासोतीमा अनुगमनपछि पवलपुत्र खाद्य उद्योग प्रा.लि. वीरगञ्जले उत्पादन गरेको एप्पल ब्राण्डको सोना मनसुली चामलमा अखाद्य वस्तु मिसावट भएको भन्दै बिक्रीमा प्रतिबन्ध लगाइको थियो । प्रतिबन्धपछि समीक्षा इन्टरप्राइजेजमा रहेका पाँचसय ७७ बोरा चामल गोदाममै थन्किएका छन् ।
चामलमा अखाद्य वस्तुको मिसावट भएको हो होइन अझै यकिन भइसकेको छैन । चामलको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँ नमुना पठाएको २२ दिन भइसकेको छ । २२ दिनसम्म पनि परीक्षणको रिपोर्ट नआएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख नगेन्द्र पौडेलले बताउनुभयो ।
बजारमा अखाद्य वस्तु मिसावट भएका उक्त ब्राण्डका चामल भने छ्याप्छ्याप्ती बिक्री भइरहेको छ । नवलपुरमा एप्पलको सोना मनसुली चामल भण्डारी किसाना पसल आरुण खोला, खनाल स्टोर्स कावासोती र समीक्षा इन्टरप्राइजेज कावासोतीले बिक्री गर्नेगरेका छन् ।
अखाद्य वस्तु मिसावट भएको भन्दै समीक्षा इन्टरप्राइजेजमा मात्र अनुगमन गरी बिक्री गर्न प्रतिवन्ध लगाए पनि अन्य पसलले निर्वाध यो चालम बिक्री गरिरहेका छन् । यता प्रशासन भने यस्तो शङ्कास्पद चामल भेटिँदा पनि अन्य पसलमा न अनुगमन गरेको छ, न त्यस्ता चामल नबेच्न नै भनेको छ । यसले गर्दा उपभोक्ता भने त्यही शङ्कास्पद चामलको उपभोग गरिरहेका छन् ।
समीक्षा इन्टरप्राइजेजले भने समयमै नमुनाको परीक्षण रिपोर्ट नआउँदा आफूहरु समस्यामा परेको बताएको छ । इन्टरप्राइजेजका प्रोप्राइटर सिताराम चुवाईले भन्नुभयो, ‘२२ दिनदेखि पाँचसय ७७ बोरा चामल गोदाममा थन्किएको छ, नबेच्न पाइएको छ, न फिर्ता पठाउन नै । यसले गर्दा रोटेसन गर्नै गाह्रो भयो ।’
पर्यटन तथा उद्योग कार्यालयले पनि छिटो रिपोर्ट पठाइदिनका लागि ताकेता गरिरहेको बताएको छ । कार्यालयका प्रमुख नगेन्द्र पौडेलले आफूहरुले पटक पटक फोन गरेर छिटो परीक्षण रिपोर्ट पठाइदिन आग्रह गरे पनि कार्यालयले नसुनेको गुनासो गर्नुभयो । ‘हामीले भनेर मात्र रिपोर्ट आएन, त्यसैले जिल्ला प्रशासन कार्यालयलाई नै ताकेता गर्न भनेका छौं, पौडेलले भन्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेकै उपस्थितिमा अनुगमन भएर चामल बिक्री प्रतिवन्ध लगाइएको थियो । सहायक प्रजिअ लामिछाने पनि रिपोर्ट छिटो पठाइदिन भनिरहे पनि नआएको बताउनुभयो । परीक्षण रिपोर्ट छिटो आउनुपर्ने हो, आएको छैन, रिपोर्ट नआउँदा समस्या भइरहेको छ, कारवाही प्रक्रिया अघि बढाउन पनि सकिएको छैन, सहायक प्रजिअ लामिछानेले भन्नुभयो, ‘हाम्रो सरकारी संयन्त्रले काम गर्न सकिरहेको छैन ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँले चामलको नमूना काठमाडौं पठाएको जनाएको छ । प्रदेश कार्यालय पोखरा प्रमुखविहीन भएकाले नमुना काठमाडौं पठाइएको कार्यालयका प्रमुख प्रशान्त पोख्रेलले बताउनुभयो ।
‘हामीकहाँ रिपोर्ट आउनेबित्तिकै पोखरा नपठाएर सबैभन्दा छिटो हुने ‘एरोमेक्स कुरियर’बाट बिदाको दिन पनि काठमाडौं पठाएका हौं, केन्द्रीय कार्यालय भएकाले हामीले कहिले आउँछ भनेर सोध्न मिल्दैन, गोरखापत्रसँग कुरा गर्दै पोख्रेलले भन्नुभयो, रिपोर्ट आउनेबित्तिकै एक्सनमा जान्छौं, तर रिपोर्ट कहिले आउँछ भन्न सकिन्न ।’
मध्यबिन्दु नगरपालिकाको आरुङखोला कोटथरमा असोज २१ गते गरिएको बजार अनुगमनका क्रममा चामलमा अखाद्य वस्तु फेला परेपछि त्यसको वितरक कम्पनी समीक्षा इन्टरप्राइजेज, कावासोतीमा २३ गते अनुगमन गरिएको थियो । समीक्षा इन्टरप्राइजेजको गोदाममा रहेका बोराको चामलमा पनि त्यस्तै अखाद्य वस्तु फेला परेपछि बिक्रीमा प्रतिबन्ध लगाइएको थियो ।
चामलमा मिसावट गरिएको वस्तुको दाना बोराको अन्य चामलभन्दा सेतो र आकारमा ठूलो देखिनुका साथै भने चपाउँदा प्लास्टिक जसरी तन्किने र पानीमा हाल्दा तैरिने गरेको प्रशासनको भनाइ छ ।