हुम्ला समाचारदाता
हुम्ला, कात्तिक १२ गते । हुम्ला जिल्लामै सबैभन्दा बढी मार्सी धान उत्पादन हुने चङ्खेली गाउँपालिका–२ र ३ को दार्म र मिमी गाउँमा पाकेको धान भित्र्याउन सुरु भएको छ । जिल्लामै सबैभन्दा पछि धान उत्पादन हुने भएका कारण किसानलाई यति बेला धान भित्र्याउने कार्यले भ्याइनभ्याइ भएको हो ।
दार्म गर्खा गाउँकी सुहान हमालले चार दिनयता धान काट्ने र थन्क्याउने कामले भ्याइनभ्याइ भएको बताउनुभयो । हुम्ला जिल्लाको मार्सी धानका लागि दार्म गाउँ प्रख्यात छ । चार सयभन्दा बढी घरधुरीले जिउलो (खेत) मा सात सयभन्दा बढी हेक्टर खेतमा धान लगाउने गर्दै आएका छन् ।
ढिलो गरी पाक्ने धान भित्र्याउने कार्यले किसान कामको चापमा परेका छन् । गत वर्ष धान उत्पादन त्यति राम्रो नभएकाले चिन्तित भएका किसानलाई यस वर्ष राम्रो उत्पादन भएका कारण हर्षित बनाएको हमालले बताउनुभयो ।
त्यसै गरी उक्त वडाका वडाध्यक्ष बिर्ख सिंहले कम्तीमा एक घरपरिवारले चारदेखि पाँच क्विन्टल धान उत्पादन गरेको र केहीले भित्र्याइसकेको र केहीको भने बाँकी रहेकाले काम भइरहेको बताउनुभयो ।