• २१ वैशाख २०८१, शुक्रबार

महासचिव गुटेर्रेसले संसद्मा सम्बोधन गर्नुहुने

blog

नेपाल भ्रमणका लागि पाल्नुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस लाई स्वागत गर्नुहुदैँ परराष्ट्र मन्त्री एनपी साउद

काठमाडौँ, कात्तिक १२ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आन्तरिक तयारी अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा उहाँले आजदेखि बुधबारसम्म नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको व्यवस्था गर्न सरकारले गरेको पत्राचार अनुसार सचिवालयले आन्तरिक तयारी थालेको हो । सचिवालयले बैठक कक्षको सजावटलगायतका काम अघि बढाएको छ । आइतबार पनि प्रतिनिधि सभाको बैठक डाकिएकाले केही तयारी भने बैठकपछि मात्र हुने छ । 

आइतबार नेपाल आउन लाग्नुभएका महासचिव गुटेर्रेसले मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको बैठकमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको जानकारी आइतबार प्रतिनिधि सभामा पनि दिने तयारी छ । 

मङ्गलबार अपराह्न बस्ने संयुक्त बैठकमा गुटेर्रेसले सम्बोधन गर्नुहुने छ । सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले सचिवालयले तयारीलाई अन्तिम चरणमा पु¥याएको बताउनुभयो । गिरीले भन्नुभयो, “सरकारको पत्राचार अनुसार हामीले तयारी अघि बढाएका छौँ । सचिवालयले केही आन्तरिक सजावटलगायतका काम भने आइतबार प्रतिनिधि सभाको बैठकपछि गर्ने तयारी छ ।”

महासचिव गुटेर्रेसले संसद् भवनकै स्काई हलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई सामूहिक रूपमा भेटको कार्यक्रम पनि तय भएको छ । स्काई हलका भेट र प्रतिनिधि सभाको बैठकका कारण संयुक्त बैठक बस्ने प्रतिनिधि सभाको बैठक कक्षको आन्तरिक सजावट भने आइतबारपछि मात्र गर्न लागिएको हो । 

सचिवालयले सम्बोधनका क्रममा उपस्थितिका लागि नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, संवैधानिक अङ्गका प्रमुखलाई आमन्त्रण गर्दै छ । गुटेर्रेसको भ्रमणलाई ध्यानमा राखेर संसद्को चालु अधिवेशनसमेत लम्ब्याइएको थियो । सम्बोधनपछि अधिवेशन अन्त्यको तयारी छ । महासचिव गुटेर्रेस असोजमै नेपाल आउने र संसद्मा सम्बोधन गर्ने तयारी भए पनि इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणपछि नेपाल भ्रमण रोकिएको थियो । असोज २७ गतेका लागि सम्बोधनको तयारी भएको थियो । 

संसद् नियमावलीले विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष, राष्ट्रसङ्घका महासचिवलगायतले सम्बोधन गर्न सक्ने व्यवस्था गरेको छ । सरकारको अनुरोधमा सम्बोधनको निर्णय सभामुखबाट हुने नियमावलीमा व्यवस्था छ । यसरी सम्बोधन गर्ने पदाधिकारीलाई सभामुखको आसनको दायाँतर्फ बस्ने व्यवस्था मिलाउने पनि नियमावलीमै प्रबन्ध छ । 

राष्ट्रसङ्घका महासचिवले संसद्मा सम्बोधन गर्न लागेको यो पहिलो पटक हो । यसअघि तत्कालीन महासचिव बान कि मुनले संसद् भवनकै बैठक कक्षबाहिरको हलमा भने सांसदहरूलाई सम्बोधन गर्नुभएको थियो । 

यस्तै २०७१ साउनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालीन व्यवस्थापिका संसद्मा सम्बोधन गर्नुभएको थियो । हालको प्रतिनिधि सभाको बैठक कक्षमै मोदीले सम्बोधन गर्नुभएको थियो । २०७६ मा म्यानमारकी नेतृ आङ सान सुचीले पनि सांसदहरूलाई सम्बोधन गर्नुभएको थियो । तर उक्त सम्बोधन संसद् भवनको ल्होत्से हलमा भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा शनिबार राति काठमाडौँ आइपुग्नु भएको छ । उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको हो । तस्विर: मनोजरत्न शाही