• १२ साउन २०८१, शनिबार

नयाँ पर्यटकीय गन्तव्य बन्दै सिद्धिडाँडा (फोटो फिचर)

blog

नयाँ पर्यटकीय गन्तव्य बन्दै गरेको सिद्धिडाँडा । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ११ गते ।
 विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र प्रसिद्ध तीर्थस्थल पाथीभराको जिल्ला भनेर ताप्लेजुङलाई चिनिन्छ । ताप्लेजुङका उक्त दुई मुख्य पर्यटकीय तथा धार्मिक गन्तव्य हुन् भने अन्य थुप्रै पर्यटकीय गन्तव्यहरू रहेका छन् । यहाँका पर्यटकीय स्थलमध्ये सदरमुकाम फुङ्लिङ बजार नजिक रहेको नयाँ पर्यटकीय गन्तव्य हो सिद्धिडाँडा ।

फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित सिद्धिडाँडा नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । पछिल्लो समय सदरमुकाम फुङ्लिङ पुग्ने आगन्तुकलाई सिद्धिडाँडाको आकर्षणले लोभ्याउने गरेको छ । फुङ्लिङदेखि साढे दुई किलोमिटर दूरीमा रहेको सिद्धिडाँडामा रहेको नागपोखरी, महादेवको मन्दिर, गुरुङ गुम्बाजस्ता संरचना रहेका छन् । त्यस्तै, एकनासको पानी झर्ने पाँच धारा, स्वागतद्वार र वरिपरि रहेको अलैँची बगानले पनि पर्यटकलाई आकर्षित गराउने गरेको छ ।


आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको सिद्धिडाँडालाई दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पोखरी र आसपासका क्षेत्रलाई सौन्दर्यीकरणको कार्य सुरु गरिएको हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरुङका अनुसार आकर्षक पर्यटकीय गन्तव्यसँगै सिद्धिडाँडामा धार्मिक सहिष्णुता झल्काउने संरचनाहरू निर्माण गरिएका छन् भने निर्माणको क्रम पनि जारी रहेको छ । मठमन्दिरसम्म पुग्ने पदमार्ग निर्माणसँगै नेपाली सेना, सामाजिक सङ्घ/संस्थाको पहल साथै सरकारी निकायको बजेटबाट पूर्वाधार तयार भएका छन् ।

प्रशस्त सम्भावना बोकेको सिद्धिडाँडाको विकास गर्नलाई भने अझ धेरै आवश्यकताहरू रहेको वडाध्यक्ष गुरुङको भनाइ छ । यस ठाउँको प्रवर्द्धनका लागि थप पूर्वाधार निर्माण गर्न प्रदेश तथा सङ्घीय सरकारको साथ र सहयोगको आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस्तै सिद्धिडाँडाको प्रचारप्रसार पनि आवश्यक देखिएको छ । हाल हरियाली, सुन्दर र शान्त वातावरण भएकाले सिद्धिडाँडामा दिनहुँजसो आगन्तुक अर्थात् पर्यटकहरू पुग्ने गर्दछन् ।