सिराज खान
नेपालगन्ज, कात्तिक ११ गते । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी बताउँदै बाँकेको विभिन्न सरकारी कार्यालय तथा सङ्घ संस्थामा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले दिनुभएको जानकारीअनुसार चितवन जिल्ला भरतपुर महानगरपालिका –१२ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका –२० राँझामा कोठा भाडामा लिएर बस्दैआएका मोहन कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।
डिएसपी डाँगीका अनुसार पक्राउ परेका कोइरालाले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी बताउँदै विभिन्न कार्यालय र सङ्घ संस्थामा गएर सुविधा माग्नेगरेको र सोही नाममा ठगी गर्नेगरेको सूचना प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्जस्थित सम्पर्क कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निगरानी गर्दै उनलाई पक्राउ गरेको छ ।
नक्कली कर्मचारी कोइरालासँग सोधपुछ गर्न खोज्दा अख्तियार र प्रहरीको टोलीलाई गालीगलौज तथा अपशब्द समेत प्रयोग गरेको डिएसपी डाँगीले बताउनुभयो ।
उहाँले कोइरालालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाउँदै कोही कसैले उनलाई विभिन्न नाम र बहानामा रकम दिएको भए प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गर्नुभयो ।