• ११ मंसिर २०८१, मङ्गलबार

‘नुवाकोट’ जिल्लाकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य

blog

पुतलीबजार नगरपालिका ५ र फेदीखोला गाउँपालिका १ को सिमानामा पर्ने ‘नुवाकोट’ जिल्लाकै एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक ११ गते ।
 पुतलीबजार नगरपालिका ५ र फेदीखोला गाउँपालिका १ को सिमानामा पर्ने ‘नुवाकोट’ जिल्लाकै एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । वि.सं २०२० सालसम्म जिल्ला सदरमुकाम रहेको नुवाकोट ऐतिहासिक महत्वका साथै धार्मिक र सांस्कृतिक हिसाबले पनि अग्रस्थानमा रहेको छ ।

जिल्ला सदरमुकाम पुतलीबजारदेखि १५ किलोमिटर उत्तरमा पर्ने नुवाकोटलाई तत्कालीन चौबिसे राज्यका बेलामा पश्चिम ४ नम्बर ‘पल्लो नुवाकोट’ भनिने गरिएको थियो । समुद्री सतहदेखि एक हजार नौ सय मिटरको उचाइमा रहेको चौबिसे राज्यको महत्त्वपूर्ण र स्थापित राज्य पल्लो नुवाकोट हो ।

शाह वंशका आदि पुरुष भूपालका दुई छोरा मध्येका कान्छा मिन्चा खान (खाँड) ले पल्लो नुवाकोटलाई नयाँ राज्य स्थापना गरेको संस्कृतिविद् प्रा. डा. दिलबहादुर क्षत्रीले मठ मन्दिरहरू एवम् गुठी व्यवस्था: संक्षिप्त अध्ययन पुस्तकमा उल्लेख गर्नुभएको छ ।

मिन्चा खानले अस्तित्वमा ल्याएको नयाँकोट नै पछि आएर नुवाकोटले सम्बोधन गरिएको हो ।

वि.सं १५१० मा अस्तित्वमा आएको नुवाकोट राज्य विसं १८४२ मा विशाल नेपालमा विलय हुनु पूर्वसम्म एक स्वतन्त्र र महत्त्वपूर्ण राज्यको रूपमा रहेको थियो । नेपालका शाहवंशीय राजाको पुर्ख्यौली थलो भनेर पनि नुवाकोटलाई मानिनेले प्रा. डा. क्षत्रीले पुस्तकमा लेख्नु भएको छ ।

यहाँ परापूर्वकालका सांस्कृतिक, धार्मिक तथा पुरातात्त्विक महत्त्वका प्रतिबिम्बहरू अहिले पनि देख्न सन्किन्छ भने नुवाकोटे राजाको पुरानो दरबार रहेको स्थानमा टुँडिखेल, रानीको चौतारी, रानी पोखरी तथा प्राकृतिक तातो हावा आउने गुफा यहाँ रहेका छन् ।

यहाँबाट जिल्लाको आधाआधी भाग र छिमेकी जिल्ला कास्कीको फेवा रुपाताल लगायत पोखराका अधिकांश भाग अवलोकन गर्न सकिनुका साथै दूरबिनको सहायताले स्याङ्जासहित २३ जिल्लाका पहाडी भाग देख्न सकिन्छ ।

स्वच्छ, सफा र मनोरम दृश्य अनि जिल्लाकै ऐतिहासिक पृष्ठभूमि नुवाकोटको मुख्य विशेषता हो भने सुन्दर हिमदृश्य तथा टाढा टाढासम्म अवलोकन गर्न पाइनु यहाँको आकर्षक पक्ष हो ।

‘पल्लो नुवाकोट’ राज्यको राजधानी नुवाकोट दरबार परिसरभित्र रहेको कालिकामाईको मन्दिर राजपरिवारले शक्तिपिठकारुपमा आराधना गरेको किंवदन्ती समेत रहेको छ । यहाँको कालिमाई र चण्डिथानमा आई भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जन विश्वास रहेको ७५ वर्षीय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङले बताउनुहुन्छ । अध्यक्ष गुरुङ २०६६ सालदेखि नुवाकोटको सेवामा निरन्तर लागि रहनुभएको छ ।

तत्कालीन राजा मिन्चा खानको पालामा आफैँ उत्पन्न भएको मूर्ति अहिले पनि सुरक्षित रहेको गुरुङको भनाइ थियो ।