गाईघाट समाचारदाता
गाईघाट, कात्तिक ११ गते । दसैँमा टीका लगाउन आउने वा जाने पाहुनाका लागि कोसेलीका विभिन्न परिकार बनाउनुपर्ने झन्झट हिजोआज पूर्णतया हट्दै गएको छ । बजारमा पाइने स्याउ, केरालगायतका फलफूल तथा मिठाईको बढ्दो प्रयोगले घर घरमा कोसेली बनाउनुपर्ने झन्झट हट्दै गएको हो ।
मान्यजन र आफन्तको घरमा टीका लगाउन जाने टिकारीले विगतमा घरमै बनाइएका सेलरोटी, अर्सा, अनर्सा, कुराउनीलगायतका कोसेली लैजाने गरिन्थ्यो तर हिजोआज बजारका मिठाई पसलमा बनाइएका जेरी, लड्डु, पेडा, पत्रे, खजुरलगायतका मिठाई तथा स्याउ र केरा किनेर लैजाने गरिएको त्रियुगा नगरपालिका वडा नं ११ गाईघाटकी शर्मिला कार्कीले बताउनुभयो । उहाँ मात्र हैन चौदण्डीगढी नगरपालिका–१०, हडियाकी कमला अधिकारीले पनि टीकाको कोसेलीमा स्याउ र केरा नै लिएर जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँका बेला सबैलाई हतार र कामको चटारो हुन्छ । त्यसमाथि कोसेली बनाउने झन्झटिलो कामले त कतिपय छोरी र बुहारीले रातमा निद्रा पनि पु¥याउन पाउँदैन थिए तर हिजोआज स्याउ, केरा र बजारका मिठाईले सबैलाई दसैँमा सजिलो बनाइदिएको छ ।”
यता अघिपछिको तुलनामा दसैँको समयमा सयौँ गुणा बढी फलफूल बिक्री हुने गरेको व्यापारीले बताएका छन् । विगत लामो समयदेखि फलफूलको होलसेल व्यापार गर्दै आउनुभएका स्थानीय व्यवसायी भोला साहका अनुसार यस वर्षको टीकाको दिन मङ्गलबार बिहानदेखि शुक्रबार चतुर्दशीसम्ममा गाईघाट बजारमा मात्रै करिब ५० लाखको स्याउ र केरा बिक्री भएको छ ।
उहाँका अनुसार दसैँतिहार र छठ पर्वलाई लक्षित गरी सयौँको सङ्ख्यामा अस्थायी रूपमा बजारका चोकैपिच्छे फलफूल पसलहरू खुलेका छन् । यस वर्ष प्रतिकिलोग्राम दुई सय ५० देखि २८० रुपियाँसम्म मूल्य पर्ने चक्लेटी, कस्मिरी, चाइनिज र मुस्ताङे स्याउले गाईघाट बजारका चोक भरिभराउ भएका छन् । स्याउ मात्रै हैन माल्भोक, मर्चमाने, कालीकेसरी, झप्री, जहाजी, चिनीचम्पा प्रजातिका केराको पनि उत्तिकै बिक्री भएको छ । दर्जनको हिसाबमा फरक फरक मूल्यमा बिक्री हुने गरेको केरा अब झन् छठ पर्वमा त सिङ्गै घरी नै बिक्री हुने गरेको व्यवसायी साहको भनाइ छ ।