• ६ माघ २०८१, आइतबार

गापा अध्यक्षमाथि गोली प्रहार गर्नेलाई पक्राउ गर्न माग

blog

कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, कात्तिक १० गते । सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेशकुमार यादव (बब्लु) माथि गोली प्रहार भएको छ । दोषीको तत्काल पहिचान गरी पक्राउ गर्न नेपाली कांग्रेसले माग गरेको छ । 

नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. २ का क्षेत्रीय सभापति एवं मधेश प्रदेशसभाका सदस्य कौशलकिशोर रायको नेतृत्वमा शुक्रबार प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापनपत्र बुझाई गाउँपालिका अध्यक्ष तथा पार्टीका युवा नेता यादवमाथि गोली प्रहार गर्ने गराउनेलाई सार्वजनिक गरी कडा कारवाही गर्न माग गरिएको हो । 

यादवलाई लक्षित गरी गएको मङ्गलबार राति कौडेना गाउँपालिका–२, इनर्वास्थित उहाँकै निवासमा गोली प्रहार भएको थियो । राति खाना खाएर हात धुने क्रममा एक राउण्ड गोली प्रहार भएको र आफू संयोगले ज्यान बचाउन सफल भएको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो । गोलीको छर्राले घरको भित्तामा प्वाल परेको छ । 

घटना भएको चार दिन बितिसक्दा समेत दोषी पहिचान हुन नसकेपछि कांग्रेसले प्रशासनलाई ज्ञापनपत्र बुझाइ घटनाको गम्भीरतापूर्वक अनुसन्धान अघि बढाउन दबाब दिएको हो । क्षेत्रीय सभापति रायले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्रमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाउन माग गरिएको छ । 

सर्लाही प्रहरीले यस घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाएको जनाएको छ । सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुको नेतृत्वमा गठित छानबिन समितिले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।