• १२ मंसिर २०८१, बुधबार

तनहुँमा रोकिएन डेंगुको सङ्क्रमण

blog

दमौली अस्पतालमा डेंगु भएर भर्ना हुन आएका बिरामी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, कात्तिक १० गते ।
तनहुँमा फैलिएको डेंगुको प्रकोप बढ्दो छ । जिल्लामा छ हजारभन्दा बढीमा सङ्क्रमित भएको पुष्टि भइसकेको छ ।

तनहुँका करिब दैनिक एक सय जनामा डेंगुको सङ्क्रमण थपिरहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा फैलिएको डेंगुबाट हालसम्ममा छ हजार ३०१  बिरामी भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।

जिल्लामा हाल दैनिक एक सय जनामा डेंगुको सङ्क्रमबाट बिरामी भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । डेंगुको सङ्क्रमण बढ्दै गएपछि सरकारी तथा निजी अस्तालमा बिरामीको भीड लागेको छ । स्वास्थ्य प्रमुख अधिकारीका अनुसार व्यास नगरपालिकामा सबैभन्दा बढी प्रभावित भएका छन् । 

व्यासमा ८४ प्रतिशत र अन्य पालिकामा १६ प्रतिशत बिरामी भएका छन् । व्यासमा पाँच हजार २५४, आँबुखैरेनी गाउँपालिकामा ३९, ऋषिङ गाउँपालिकामा १७८, घिरिङ गाउँपालिकामा नौ, देवघाट गाउँपालिकामा १४, बन्दीपुर गाउँपालिकामा ४१, भानु नगरपालिकामा ८०, भिमाद नगरपालिकामा १७४ जना, म्याग्दे गाउँपालिकामा ९७ जना, शुक्लागण्डकी नगरपालिकामा ३८९ जना र पालिका नखुलेको ६ जनामा डेङ्गुको सङ्क्रमण भएको छ ।

दसैंको समयमा बिरामी हुन थालेपछि यतिबेला जिल्लामा चाडपर्व खल्लो भएको छ । चाडपर्वको समयमा झन् बिरामी चाप बढेको दमौली अस्पतालका सिनियर अहेब दिनेश पण्डितले बताउनुभयो । ज्वरो आएका अधिकांश बिरामीमा डेंगुको सङ्क्रमण भएको पण्डितले जानकारी दिनुभयो । पण्डितका अनुसार बिहीबार ३१ जनाको डेंगु परिक्षण गर्दा २३ जनामा सङ्क्रमण भएको र बुधबार ५६ जनाको परीक्षण गर्दा ३६ जनालाई डेंगु पोजेटिभ भएको छ । शुक्रबार समेत अस्पतालमा बिरामीको भीड लागेको छ । चाडपर्व भए पनि बिरामीको चाप घटेको छैन । दैनिक अस्पतालमा डेंगु तथा अन्य गरी १५० जना बिरामी आउने गरेको पण्डितले बताउनुभयो ।

डेंगुबाट मृत्यु हुने पाँचै जना व्यास नगरपालिकाका हुन् ।  वडा नम्बर–४ शीतलचोकका छ वर्षीय बालको असोज २६ गते निधन भएको थियो । गत असार १६ गते वडा नम्बर १० निवासी ३५ वर्षीय युवा, असोज २ गते वडा नम्बर –११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते, वडा नम्बर–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते वडा नम्बर –२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको छ ।

डेंगुको सङ्क्रमण एडिज जातिको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फुल पार्ने, लार्भा हुर्काउने भएकोले पानी जम्न नदिएर बासस्थान ध्वस्त बनाएर लामखुट्टेलाइ नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् ।

बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिनुभयो ।

जिल्लामा रोग फैलिँदै गएपछि रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएका छ । लामखुट्टेले फुल पार्ने ठाउँमहरु ‘‘खोजौं र नष्ट गरौं’’ भन्ने नारासहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी तनहुँ डेंगु रोगको रोकथाम तथा न्यूनीकरण अभियानमा सामेल छ । रेडक्रसले सचेतना मुलक कार्यक्रम गरिरहेको छ । रेडक्रसले जुनियर रेडक्रस सर्कल, युवा रेडक्रस सर्कलमार्फत् लामुखुट्टेको बास स्थान खोज्ने र लार्भा नष्ट गर्ने लगायतको काम भइरहेको नेपाल रेडक्रस सोसाईटी तनहुँका महामन्त्री सूर्यचन्द्र हड्खलेले बताउनुभयो । हड्खलेले भन्नुभयो चाडपर्वको समयमा रोग फैलिँदा निराश बनाएको छ ।

तनहुँमा गण्डकी प्रदेशमा पहिलो र नेपालमा दोस्रो धेरै डेंगुको सङ्क्रमण फैलिएको दमौली अस्पतालका प्रमुख डा. बरालले जानकारी दिनुभयो । रोग  नियन्त्रणमा आउन नसक्दा चाडपर्वको समयमा भर्ना गर्ने बिरामी आइरहेको बराल बताउनुहुन्छ । डेंगुका बिरामीलाई उपचारका लागि सहज बनाउन १० बेड अलगै व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । बिरामीमध्ये महिला ५४ प्रतिशत र पुरुष ४६ प्रतिशत प्रभावित भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।