अमरराज नहर्की
तनहुँ, कात्तिक १० गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले यात्रुसँग बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १२ सवारी साधनलाई कारबाही गरेको हो ।
बढी भाडा लिएका सवारीलाई एक हजारका दरले जरिवाना गर्नुका साथै बढी लिएको रकम फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालय तनहुँका ट्राफिक प्रमुख राजीव विष्टले जानकारी दिनुभयो । पहिलो पटक बढी भाडा लिनेलाई एक हजार, दोस्रो पटक लिएमा दुई हजार तेस्रो पटक लिएमा पाँच हजार जरिवाना हुने विष्टले बताउनुभयो ।
काठमाडौं र पोखरा जाने यात्रुसँग एक हजार भाडा लिएको र जहाँ झरे पनि एक हजार भाडा माग्ने गरेको पाइएकाले कारबाही गरिएको विष्टले बताउनुभयो । विष्टका अनुसार दमौलीबाट काठमाडौंको ६५० भाडा हुनुपर्नेमा छड्के जाँच गरी यात्रुसँग सोधपुछ गर्नेक्रममा एक हजार लिएको पाइएकाले जरिवाना गरिएको र बढी भाडा लिएको रकम फिर्ता गरिएको प्रहरीले जनाएको छ ।
दसैंका लागि आवतजावत गर्ने यात्रुसँग बढी भाडा लिनसक्ने भन्दै कार्यालयले विभिन्न ठाउँमा छड्के चेकपोष्ट राखेको छ । लामो दूरीका सवारी साधनलाई केन्द्रित गर्दै ट्राफिक प्रहरीले चेकिङ गर्दैआएको छ । १० वटा माइक्रो बस र दुई वटा बसलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सार्वजनिक सवारीसाधनले यात्रुबाट चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरी भाडा फिर्ता गराइएको ट्राफिक प्रमुख विष्टले जानकारी दिनुभयो । चाडपर्वलाई लक्षित गर्दै यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले तनहुँको ६ स्थानमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको कुनै समस्या परेमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ ।
जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारी साधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि कक्षको स्थापना गरिएको विष्टले जानकारी दिनुभयो । चाडबाडको समयमा बढी भाडा मागी यात्रु ठगिने, वृद्धवृद्धा, महिला, अपाङ्गता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नपाउने, यात्रुको सामान हराउने, छुट्ने, मादक पदार्थ सेवन गर्ने एवम् सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायतका समस्या कम गराउन कक्ष सञ्चालनमा ल्याइएको विष्टले बताउनुभयो ।
चाडपर्वको बेलामा यात्रुले विभिन्न सास्ती पाउन सक्ने भएकाले पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौंडा र सहायक मार्गहरु भिमाद नगरपालिकाको भिमाद बजार र भानु नगरपालिकाको पुर्कोट, बाइसजाँगरमा ‘सहायता कक्ष’ स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।