रमेश पौडेल
पोखरा, कात्तिक १० गते । कलाकार प्रकाश घिमिरे दुर्घटनामा परी घाइते हुनुभएको छ । पोखरा महानगरपालिका ३ नदीपुर निवासी घिमिरे छिमेकमै रहेको बालमन्दिर स्कुलको नजिक प्रेम शेरचनको घर नजिकको भिरबाट घाँसको डाला तान्ने क्रममा बिहान ९ बजेतिर डिलबाट खसेर घाइते हुनुभएको हो ।
उहाँका साथी प्रेम शेरचन सँगै रहनुभएकाले तत्काल उद्धार गर्न खोजिए पनि झाडी फाडेर घाइते घिमिरेलाई अस्पताल लग्न २ घण्टाभन्दा बढी समय लागेको थियो । अहिले उहाँको मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि आइसियूमा राखिएको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । उहाँको टाउको, छाती र मेरुदण्डमा चोट लागेको छ । उहाँ अझै अचेत अवस्थामा रहेको बताइएको छ । रक्तचाप र अक्सिजन लेबल निकै कम भएकाले पनि काठमाडौँ लैजान निकै कठिन भएको उहाँका आफन्त गोविन्द पौडेलले जानकारी दिनुभयो । दसैको बेला बिदामा बसेका सिनियर चिकित्सकलाई तत्काल सहभागी गराई उपचार सुरु गरिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।
मणिपाल शिक्षण अस्पतालका अनुसार घाइते घिमिरेको अवस्था स्थिर रहेको जनाइएको छ । उहाँको फिल्म पशुपतिप्रसाद २ भष्मे डन पोखरालगायत देशैभर प्रदर्शन भइरहेका छन् । नाटक प्रहसन सुरु भएको उहाँको कलाकारिता टेलिसिरियल दलन हुँदै दर्जनौँ फिल्म अभिनय गरिसक्नुभएको छ ।