• १५ मंसिर २०८१, शनिबार

सेतीनदी कटान क्षेत्रमा ग्याबिन तटबन्धन निर्माण

blog

तनहुँ,  कात्तिक  ९ गते ।  भीमाद नगरपालिकास्थित सेती नदीले कटान गर्दा जोखिममा पारेको बस्ती संरक्षणका लागि ग्याबिन तटबन्धन निर्माण गरिएको छ । नदी कटानका कारण भीमाद बजार क्षेत्रका ३५ घर उच्च जोखिममा परेका थिए । 

करिब दुई सय मिटर दूरीमा तटबन्धन निर्माण गरी बस्ती जोगाउने प्रयास गरिएको हो । पटकपटक गरी उक्त स्थानमा रु दुई करोडभन्दा बढी लगानी भइसकेको नगरप्रमुख दधिराज सुवेदीले बताउनुभयो । 

“दीर्घकालीन व्यवस्थापनका लागि लागत अनुमान तयार गरिएको छ”, उहाँले भन्नुभयो, “रू १७ करोडको लागतमा सेती नदी किनारमा ‘रिटेनिङ वाल’ निर्माणका लागि डिपिआर तयार भएको छ ।” करिब ५० देखि ६० मिटर उचाइमा रिटेनिङ वाल निर्माण गरी जोखिममा रहेका बस्तीलाई संरक्षण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिनुभयो ।  

उक्त स्थानमा रिटेनिङ वाल निर्माण गरी माटोले पुरेर बिहान र बेलुका मानिस हिँड्ने पैदलस्थलका रुपमा निर्माण गर्ने योजना बनाइएको छ । 

रु सोह्र करोडका पाँच योजना  

भीमाद नगरपालिकामा यस चालु आर्थिक वर्षमा रु १६ करोडका पाँच वटा योजनाको निर्माण अघि बढाइएको छ । सहरी विकास मन्त्रालयले विनियोजन गरेको रु २५ करोड बजेटमा रु १५ करोड ९७ लाखमा ठेक्का सम्झौतापछि निर्माण प्रक्रिया अघि बढाइएको हो । 

ठेक्का सम्झौताअनुरुप जलौदीदेखि मालेबगर जोड्ने करिब दुई दशमलव दुई किमी कालोपत्रका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ । भीमगोफा मोटरमार्गको दुई दशमलव सात किमी दूरीमा स्तरोन्नतिका लागि रु तीन करोड विनियोजन भएको नगरप्रमुख दधीराज सुवेदीले जानकारी दिनुभयो ।  

त्यसैगरी किहुँ मार्गमा एक दहमलव २० किमी ढलान गर्न रु दुई करोड ४४ लाख, शवदाहस्थल निर्माण र प्रवेशद्वार निर्माणार्थ रु दुई करोड विनियोजन भएको छ । भीमाद-६ सेतीनदी किनारमा निर्माण गरिने शवदाहस्थल डेढ वर्षमा सम्पन्न गर्नेगरी सम्झौता भएको नगरप्रमुख सुवेदीले बताउनुभयो ।  

त्यसैगरी सिद्धगुफामा पर्यटन प्रवर्द्धनका लागि रु दुई करोड ५० लाख बजेट विनियोजन भएको थियो । रासस