• ११ मंसिर २०८१, मङ्गलबार

हराउँदै पिङ हाल्ने र खेल्ने पुरानो परम्परा

blog

तनहुँको व्यास नगरपालिका –११ रानीगाउँमा बनाइएको रोेटे पिङ । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक ९ गते । दसैं र तिहार भन्नेबित्तिकै सबैलाई पिङको सम्झना आउँछ । तर पछिल्लो समय तनहुँमा गाउँदेखि सहरसम्म पिङमा रमाउने मौलिक परम्परा हराउन थालेको छ । 

हाल युवापुस्ता पिङ्माभन्दा पनि सामाजिक सञ्जालमा रमाउने र पिङ हाल्ने युवा बिदेश हुँदा जनशक्तिको अभावले पिङ नै लोप हुन लागेको अवस्था छ । बढ्दो आधुनिकीकरण, युवा पुस्ताहरू सहर, बजार र बिदेसिएकाले गर्दा  पिङ संस्कृति हराउँदै गएको बुढापाकाहरु बताउँछन् । 

दशैँको सुरुआतदेखि थापेको रोटे, जाँते र लिङ्गे पिङ तिहारसम्मै राखिन्थ्यो । पहिला गाउँका चोक चोकमा पिङ हुनेगरेको हाल बिरलै मात्र देखिनेगरेको व्यास नगरपालिका –११ पोल्याङ निवासी ७८ वर्षीय खडानन्द कैनीले बताउनुभयो । कैनीले भन्नुभयो, “केही वर्ष अघिसम्म दसैं आउँदा गाउँमा र चोक–चोकमा देख्न पाइने पिङ अहिले त्यती देख्न पाइँदैन । दसैंको बेला पिङमा मच्चिएर खेल्ने पुरानो परम्परा अहिले ग्रामीण क्षेत्रमा विरलै मात्र देख्न सकिन्छ ।” 

दसैं लाग्नासाथ गाउँघरमा युवाहरू जम्मा हुने बाबियो काटेर ल्याउने लठ्ठे पिङ राख्ने र बालबालिकादेखि वृद्धवृद्धासम्म दसैंको दिन भुइँ छोड्नुपर्छ भन्ने मान्यताले पनि गाउँघरमा अनिवार्य पिङ हाल्ने चलन थियो । कतिपय ठाँउहरूमा पिङ भेटिइहाले पनि त्यो बजारका डोरी तथा लठ्ठाका मात्रै हुन्छन् । 

तँछाडमछाड गर्दै आफ्नो पालो कुर्ने, कसले धेरै उचाइसम्म मच्चिन सक्छ भन्ने होडबाजी हुनेगरेकोमा हाल हराएको व्यास नगरपालिका–१२ कमलबारीस्थित एकता युवा क्लबका अध्यक्ष ताराप्रसाद पन्थले बताउनुभयो । पिङ हाल्ने प्रचलन हराउँदै गएकाले सस्कृति जोगाउन नयाँ पुस्ताले पिङको बारेमा जानुन् भनेर क्लबले १० हजार खर्च गरेर लिङ्गे पिङ्ग बनाएको पन्थले जानकारी दिनुभयो ।

प्रविधिको विकास भएसँगै मनोरञ्जनका अन्य साधनहरू प्रशस्तै आएकाले पनि यस्ता पिङतर्फ आकर्षण घटेको उहाँको बुझाइ छ । रोजगारका लागि युवाहरू विदेशिएकाले पिङ बनाउने जनशक्ति नै गाउँमा नभएकोले पिङ हराउँदै गएको व्यास नगरपालिका –५ चापाघाट स्थित शान्ति वर्ष अङ्ग्रेजी माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक खेमलाल श्रेष्ठले बताउनुभयो । पिङ सस्कृतिको संरक्षणको लागि विद्यार्थी, अभिभावका अतिरिक्त समाजको सबैको लागि विद्यालयले लिङ्गे पिङ निर्माण गरेको उहाँले जानकारी दिनुभयो । 

रोटे पिङका लागि बलियो सालको काठ चाहिने, त्यस्तो काठ पाउन डिभिजन वन कार्यालयसँग अनुमति लिनुपर्ने र बनाउने जनशक्तिको कमीले गर्दा रोटे पिङ्ग लोप हुने खतरा भएको व्यास नगरपालिका –१० दुम्सि निवासी शिक्षक श्रीकृष्ण आचार्यको भनाइ छ । रोटे  पिङ बनाउन काठका ठूल्ठूला दुईटा पोल, त्यसको बाहा र फल्याकसहित थुप्रै काठ आवश्यक पर्ने हुँदा पनि झन्झटिलो भएको आचार्यले बताउनुभयो ।