• ११ असोज २०८१, शुक्रबार

तोकिएभन्दा बढी भाडा असुल्दै सवारी साधन

blog

यात्रुबाट भाडा बढी लिएको गुनासो आएपछि चेकजाँचमा कडाइ गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे 

हिले, कात्तिक ९ गते । चाडवाडमा सवारी साधनले यात्रुवाट तोकिएभन्दा बढी भाडा असुल्ने गरेको पाइएको छ । विभिन्न स्थानमा तोकिएभन्दा डबल बढीसम्म भाडा असुल्ने गरेको यात्रुको गुनासो छ । 

धरानबाट धनकुटाको हिलेसम्म तोकिएको भाडा ४५० भए पनि प्रतिव्यक्ति ८ सय रुपियाँसम्म भाडा लिने गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञराज शर्माले जानकारी दिनुभयो । 

त्यस्तै, धनकुटाको धनकुटा–हिले–सिँधुवा–पाख्रिबास लगायतको स्थानबाट समेत तराई झर्ने क्रममा बढी भाडा असुल्ने गरेको पाइएको उहाँको भनाइ छ । “भाडा बढी लिएको गुनासो त पहिले देखिकै हो, तर चाडवाडमा पहिलेभन्दा दोब्बर बढीसम्म भाडा लिने गरेका रहेछन्, नियन्त्रण गर्ने अभियानमा हामी छौं” शर्माले भन्नुभयो । धनकुटाका विभिन्न गाउँ जाने सवारी साधनले बढी भाडा लिएको गुनासो आउनेगरेको छ ।

त्यसो त गाडीहरुले अहिले चलानी पनि नदिने र टिकटसमेत नदिने गरेको यात्रुको गुनासो छ । टिकट पनि नदिने चलानी पनि नदिने गरेकाले सवारी साधनलाई कार्बाही गर्न समस्या हुनेगरेको शर्माको भनाइ छ । त्यस्तै यात्रुले समेत सवारी साधनमा हुँदा सवारी चालकको डरले गुनासो नगर्ने तर गन्तब्यमा पुगेपछि मात्र गुनासो राख्नेगरेको उहाँले बताउनुभयो ।   

गाडी नपाइने, रिजर्भ गर्नुपर्छ, भरे यही पनि गाडी पाइँदैन कि, तपाई नगए अरु जान्छन् जस्ता समस्या देखाएर गाडीवालाले बढी भाडा असुल्ने गरेकाे यात्रुको भनाइ छ । दसैंले गर्दा भाडा बढेको भनेर सधैँ चारसयमा रुपियाँ ओहोरदोहोर गरिरहेको धरान हिले सडकखण्डमा आठसय रुपियाँ लिएर मात्र गाडी चढ्न दिएको यात्रु कोपिला खड्काको भनाइ छ ।  

पहाडबाट तराइतर्फ जाने सवारी साधनभन्दा पनि सुनसरीको धरानबाट कोशी पहाडका जिल्लातर्फ जाने सवारीसाधनले बढी भाडा असुलिरहेको उहाँको भनाइ छ ।

ठूला सवारी साधनभन्दा पनि साना सवारी साधनले बढी भाडा लिनेगरेको पाइएको छ । भाडा बढी लिएको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्ययल धनकुटाले सवारी साधन चेकजाँचमा कडाइ गरेको छ । 

चाडवाडमा बढी भाडा लिएको गुनासो आएपछि कार्यालयले चेकजाँचलाई तीव्र पारेको सो कार्यालयको भनाइ छ । धनकुटाको हिले, धनकुटा, भेडेटार मूलघाट लगायतको स्थानमा चेकजाँच गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्ययल धनकुटाले जनाएको छ । 

बढी भाडा लिने सवारी साधनलाई एक हजारदेखि पाँच हजारसम्म जरिवाना गराउने प्रावधानअनुरुप कारवाही गरिरहेको जनाइएको छ । अहिलेसम्म एक सयभन्दा बढी सवारी साधनलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।