कपिल ज्ञवाली
सिद्धार्थनगर, कात्तिक ९ गते । रुपन्देहीको तिलोत्तमास्थित तीन घरमा चोरी भएको छ । तिलोत्तमा–७ मा भलवारीमा यही कात्तिक ७ गते मङ्गलबार चोरी भएको इलाका प्रहरी कार्यालय मङ्गलापुरले जनाएको छ ।
दसैंको दिन साँझ तीन घरबाट पाँच तोला सुनका गरगहनासहित नगद चोरी भएको प्रहरीले जनाएको छ । दसैंमा टीका थाप्न आफन्तको घरमा गएको मौका छोपी स्थानीय अनिशा गुरुङको घरबाट पाँच तोला र धालबहादुर श्रीसको घरबाट २५ लाखको गरगहना चोरी भएको हो । यसैगरी, ओमबहादुर क्षेत्रीको घरबाट ३० हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।
रातिको समयमा घरमा कोही नभएको मौका छोपी मूल गेट नाघेर भित्र प्रवेश गरी चोरी भएको इलाका प्रहरी कार्यालय मङ्गलापुरका प्रहरी सहायक निरीक्षक लोकनाथ पाण्डेले जानकारी दिनुभयो ।
चोरीको घटनाबारे थप अनुसन्धान भइरको र चोरी गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । यद्यपी चाडवार्डको समयमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरेको थियो ।