• १५ मंसिर २०८१, शनिबार

मुद्दा फर्छ्यौटमा नवलपुर जिल्ला अदालत देशकै पहिलो

blog

होमराज रानाभाट 

कावासोती, कात्तिक ८ गते । कार्यसम्पादनमा अब्बल नवलपुर जिल्ला अदालत देशकै सबै भन्दा धेरै मुद्दा फर्छ्यौट गर्ने अदालतका रूपमा सम्मानित भएको छ । 

नवलपरासी पूर्बमा रहेको जिल्ला अदालतबाट सर्वसाधारणदेखि हरेक नागरिकले छिटोछरितो तरिकाले समयमै न्याय पाउन थालेपछि अदालतप्रति विश्वास बढेको कावासोतीका दुर्गा थापामगरले बताउनुभयो । 

हरेक वर्गका नागरिकले न्याय छिटोछरितो पाउन भन्ने उद्देश्यले नवलपुर जिल्ला अदालतले मुद्दा फर्छ्यौटलाई पहिलो प्राथमिकतामा राखेर आफना गतिविधि अगाडि बढाएपछि जिल्लामा एक वर्षमा देशमै सबैभन्दा बढी मुद्दा फैसला गर्ने अदालतका रूपमा यसले सम्मान पाएको श्रेष्तेदार गम्भीर घिमिरेको भनाइ छ । 

न्याय हरेक सर्वसाधारण नागरिकले सर्वसुलभ तरिकाले पाउन् भन्ने अभिप्रायले जिल्ला अदालत नवलुपुरले अदालतमा परेका मुद्दालाई छिटो फैसला गरी न्याय दिने कार्यमा अघि बढेको जिल्ला अदालतका श्रेष्तेदार घिमिरेले बताउनुभयो । 

हालसम्म जिल्ला अदालतमा परेका दुई हजार तीन सय १४ मुद्दामध्ये गत आर्थिक वर्ष २०७९।८० मा एक हजार नौ सय तीन वटा मुद्दा फर्छ्योट भई आर्थिक वर्ष २०८०।०८१ मा चार सय आठ मुद्दाको जिम्मेवारी सरेको छ ,भने अदालतमा दुई वर्ष नाघेका कुनै पनि मुद्दा नभएको र नवलपुर जिल्ला अदालत देशकै पहिलो धेरै मुद्दा फैसला हुने जिल्लाका रूपमा रहेको जिल्ला अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिनुुभयो । 

नवलपुर जिल्ला अदालतलाई देशकै नमुना अदालत बनाउने उद्देश्यले यहाँ कार्यरत न्यायाधीश यज्ञप्रसाद आचार्यले एक वर्षमै एक हजार एक सय ३५ मुद्दा फैसला गरी देशमै पहिलो रेकर्ड कायम गर्नुभएको नवलपुर जिल्ला अदालतले जनाएको छ ।

यो आर्थिक वर्षमा गत वर्षको जिम्मेवारी सरेका सबै मुद्दा यो वर्ष फर्छ्योट हुने गरी अदालतले प्रक्रिया अघि बढाएको छ भने अदालतमा २५ प्रतिशत पुरुष र ७५ प्रतिशत महिला सँग सम्बन्धित मुद्दाहरु रहेका श्रेष्तेदार घिमिरेले बताउनुभयो । 

अदालतमा देवानी ,लागू औषधसँगै घरेलु हिंसा र जर्बजस्ती करणीका धेरै मुद्दा रहेको र अदालतले गरिब निमुखा ,असहाय हरूलाई निःशुल्क कानुनी सेवा दिन वैतनिक अधिवक्ताको व्यवस्थासमेत गरेको छ ,वैतनिक को व्यवस्था भए पछि गरिब ,निमुखा, असहायहरुले निःशुल्क कानुनी सेवा पाएर लाभान्वित हुँदै आएका अदालतको भनाइ छ । 

नवलपुर जिल्ला अदालत पछि दोस्रो नम्बरमा सुनसरी जिल्ला अदालत रहेको छ । सो अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाले एक हजार एक सय २९ मुद्दा फैसला गरी दोस्रो नम्बरमा मुद्दा फैसला गर्नै न्यायाधीश रहनुभएको जनाइएको छ ।   

अदालतले छिटो मुद्दा फैसला गर्नका लागि पेशी चढाउँदा छिटो चढाउने ,दुई पटक भन्दा बढी बढी स्थगित नगर्ने अदालतका कर्मचारीहरूले तीन देखि चार घण्टा सम्म अतिरिक्त समय काम गर्ने ,जस्ता कार्यले पनि मुद्दा फछर्योटमा सहजता आएको जिल्ला अदालत नवलुपुरले जनाएको छ ।

हरेक नागरिकलाई अदालतले न्याय दिँदा कुनै भेदभाव बिना समयमै न्याय पाइन्छ भन्ने  विश्वास जगाउँदै जान सके मात्र पनि नागरिकको भरोसा बढ्दै जान सक्ने नवलपुर बार एशोसिएसनका अध्यक्षता चेतप्रसाद डुम्रेले बताउनुभयो ।