• १२ मंसिर २०८१, बुधबार

बङ्गलादेशमा रेल दुर्घटनाम मृत्युको सङ्ख्या १५ पुग्यो

blog

ढाका, कात्तिक  ६  गते । बङ्गलादेशमा सोमबार दुई वटा रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बङ्गलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिनुभयो । 

बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको थियो । 

“भग्नावशेषबाट अहिलेसम्म १५ वटा शव बाहिर निकालिएको छ”, सरकारले भन्नुभयो । उहाँका अनुसार दुर्घटनामा एगरोसिन्धुर एक्सप्रेसका कयौँ डिब्बा पल्टिँदा करिब एक सय जना घाइते भएका छन् । उहाँले मर्नेहरूको सङ्ख्या अझै बढ्ने आशङ्का गर्नुभयो । 

अधिकारीहरूका अनुसार जीवित अधिकांश यात्रीहरूलाई चोट लागेको छ र उनीहरूलाई अस्पताल पुर्याइएको छ । सयौँ स्वयंसेवक र स्थानीय बासिन्दा अग्निशमनकर्ताहरूसँग सहभागी भएर भग्नावशेषमा फँसेका मानिसलाई बचाउन सक्रिय भएका थिए । रासस/सिन्ह्वा