हरिप्रसाद कोइराला
उर्लाबारी, कात्तिक ६ गते । मोरङको कानेपोखरी –७ बरगाछीकी सरिता श्रेष्ठ, कविता तामाङ र कमला लिम्बू नवरात्रको नवौं दिन बिहानदेखि नै पूजापाठमा ब्यस्त रहनुभयो ।
स्थानीय चोकमा बरगाछी महिला समूहले आयोजना गरेको नवरात्र दुर्गापूजा समारोहमा महिलाले जात र धर्मभन्दा माथिउठेर सामूहिक रुपमा पालैपालो कर्ता बनेर दुर्गापूजामा सहभागिता जनाउनुभयो ।
खासगरी नवरात्र पूजा कुनै खास समूदायले मात्र गर्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै सबै जात र धर्म मान्ने महिलाले आलोपालो पूजा गरेका हुन् । पूजामा सहभागी कमला लिम्बूले भन्नुभयो, “शक्तिको उपासना गर्न जात र धर्मले छेक्नु हुँदैन भनेर हामी महिलाले समूहिक दुर्गापूजाको आयोजना गरेका हौं ।” समूहमा लिम्बू, क्षेत्री, ब्राह्मण, गुरुङ, तामाङ र नेवार समूदायका महिलाको सहभागिता छ । जातभन्दा माथि उठेर शक्तिको उपासना गरेको उहाँले बताउनुभयो ।
कविता तामाङले भन्नुभयो, “दशैं–तिहार, तीज र होली मात्र होइन, चासोक तङ्नाम, ल्होसार, नेपालसम्वत पनि सामूहिक रुपमा मनाउने तयारीमा छौं । यो सुरुवात मात्र हो । हरेक पर्वले समाजलाई जोड्नुपर्छ ।”
नेपालका हरेक पर्व सांस्कृतिक रुपमा मनाउनु पर्ने बताउँदै राधा गुरुङले भन्नुभयो, “नेपालमा मनाइने हरेक जातिका पर्व विशेषखाले छन् । तिनले नेपालीको पहिचान दिन्छन् । हिन्दु भारतमा पनि छन् । तर उनीहरू न टीका लगाउँछन् । न जमरा लगाउँछन् । नेपाली पर्वको विशेषता नै नेपालको परिचय झल्कनु हो ।”
सरिता श्रेष्ठका अनुसार समूह गठन भएपछि पहिलो कार्यक्रमका रुपमा दुर्गापूजा गरिएको छ । आम गाउँवासीले तन मन धन दिएर सहयोग गर्नुभएको छ । दुर्गा पूजामा समावेशी चित्र देखिँदा समूदाय पनि खुसी भएको छ ।
पूजामा महिला आफ्नो जातीय पोशाकमा उपस्थित भएका थिए । दशैं तिहारजस्ता पर्वले आफन्तलाई वर्षमा एक पटक जोड्छ । समाजलाई पनि जोड्नुपर्छ भन्ने महिलाको भनाइ छ ।
समूहका अध्यक्ष रिता सिग्देलले पहिलो कार्यक्रमबाट उत्साह थपिएको बताउनुभयो । सुरुका दिनमा सामाजिक सहयोग नहोलाकी भन्ने चिन्ता रहेको भए पनि स्वतः स्फुर्त रुपमा भक्तजनहरूको भब्य उपस्थिति भएको उहाँको भनाइ छ । भजन कीर्तन, पूजा अर्चना कतै पनि जातीय विभेद नभएको उहाँले बताउनुभयो ।