शेरबहादुर सार्की
बाजुरा, कात्तिक ६ गते । बाजुरामा विभिन्न ठाउँमा निर्माण गरिएका प्रसुति गृहबाट सेवा सुचारु नहुँदा यहाँका महिलालाई सुत्केरी गराउन समस्या भएको छ । प्रदेश सरकारको आर्थिक सहगोगबाट निर्माण गरिएका प्रसूति गृहबाट अझै सेवा सुचारु नहुँदा यहाँका महिलालाई सुत्केरी गराउन समस्या भएको हो ।
बाजुराको बूढीगङ्गा नगपालिका –१ र २ अम्कोट र बह्मतोलाबीच पाल्नेढोरमा निर्माण गरिएको प्रसूति गृहबाट अझै सेवा सुचारु नहुँदा यहाँका महिलालाई सुत्केरी गराउँदा समस्या हुनेगरेको बह्मतोलाका स्थानीय महिला जाल्पादेवी थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँका महिलालाई गाउँमै सुत्केरी गराउन सहजताका लागि निर्माण गरिएको यो प्रसूति गृह सेवा सुचारु नहुँदा बह्मतोला, धाभुवाँ, अम्कोट, बल्दे, खस्रेखेत र जमालवाडा लगायत ठाउँका गर्भवती महिला अझै दुई घण्टाको बाटो हिँडेर बह्मतोला स्वास्थ्य चौकीमा जाने गरेका छन् ।”
गर्भवती महिलालाई प्रसूति गराउन सहज हुनेगरी बूढीगङ्गा नगपालिकाको अम्कोट र बल्देको माथि कन्सर्न बाजुराको बीच घट्टाला बस्ने ठाउँमा २०७७ कात्तिक ७ गते प्रसूति भवन निर्माण भएको थियो ।
यहाँका महिलाले सेवा सुचारु गर्न माग गर्दैआएको भए पनि अहिलेसम्म कसैले सुनुवाइ गरेको छैन् । अन्य वडामा सुत्केरी गराउन गाउँमै प्रसूति गृह सञ्चान भएका छन् । तर हाम्रो गाउँमा भने भवन निर्माण भए पनि सेवा सुचारु नहुँदा सुत्केरी गराउन सास्ती खेप्दै आउनुपरेको छ ।
यहाँका महिलाले कहिले व्यथा चलेकै समय पीडा सहँदै राति दुई घण्टाको बाटो हिडेर सुत्केरी गराउन बह्मतोला स्वास्थ्य चौकीमा जान बाध्य भएको थापाले बताउनुभयो ।
स्थानीय सरकारले ठूलो लगानी गरेर गाउँमै प्रसूति गृह निर्माण गरे पनि त्यसबाट सेवा सञ्चालन नहुँदा अहिले त्यो जीर्ण बन्दैगएको बूढीगङ्गा नगपालिका –१ बालमैत्री आरधारभूत विद्यालयका शिक्षक बहादुर थापाले बताउनुभयो ।
उहाँले, लामो समयसम्म सेवा सुचारु नहुँदा भवन र यहाँ बनेका अन्य शौचालय समेत जीर्ण बन्दैगएको बताउनुभयो । प्रदेश सरकारको अर्थिक सहयोगमा बूढीगङ्गा नगरपालिकाले सात वडामा झण्डै एक करोड पाँच लाख रुपियाँ लगानीमा सात वटा प्रसूति गृह निर्माण गरेको छ ।
तीमध्ये अधिकांश भवन सञ्चानलमा ल्याएको भए पनि केही प्रसुति गृह भने अझै सञ्चालनमा आएका छैन । बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाहले सुत्केरी गराउन तथा गाउँमा खोप लगाउन जाँदा सहजताका लागि प्रदेश सरकारले ती भवन निर्माण गरेको बताउनुभयो ।
उहाँले ती भवनबाट नै यहाँका स्थानीयले प्रसूति सेवा सञ्चालनको माग गर्दैआएका छन् । कर्मचारी नभएकै कारण ती भवनबाट सेवा समस्या भएको बताउनुभयो ।