• ५ जेठ २०८१, शनिबार

घोडा दौड प्रतियोगिता : चौध वर्षीया किशोरी पनि सहभागी

blog

घोडा दौड प्रतियोगितामा सहभागीहरु । तस्विर : नेत्र शाही

नेत्र शाही

जुम्ला, कात्तिक ५ गते । फूलपातीको दिनको अवसर पारेर मनाइँदै आएको घोडा दौड प्रतियोगिता यो पटक पनि सम्पन्न भएको छ ।  कर्णाली कला तथा सांस्कृतिक संरक्षण मञ्च जुम्लाको आयोजना तथा चन्दननाथ नगरपालिका र पशुसेवा तथा पशु अस्पताल जुम्लाको प्रायोजनमा घोडा दौड प्रतियोगिता सम्पन्न गरिएको हो ।

खस संस्कृतिको परम्पराअनुसार दसैंको अवसर पारेर हरेक बर्ष फूलपातीका दिन दौडाउँदै आएको घोडा दौड यस पटक पनि सम्पन्न गरिएको छ । २७ वटा घोडा प्रतियोगिताका लागि दर्ता भएका आयोजकले जनाएको छ । 

कर्णाली कला तथा सांस्कृतिक संरक्षण मञ्चका अध्यक्ष आनन्द अधिकारीका अनुसार प्रतियोगितामा गुठिचौर गाउँपालिका १ निवासी विकास ऐडीको सेतो घोडा प्रथम, गुठिचौर गाउँपालिका १ कै मानबहादुर ऐडी द्वितीय र तृतीय गुठिचौर १ कै टेक बाेहोराको घोडा भएको छ । 

प्रतियोगितमा प्रथमलाई पाँच हजार, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिएको आयोजनकले जनाएको छ । 

यसैगरी घोडा दौड प्रतियोगितामा लामो समयपछि महिलाको सहभागिता भएको छ । तातोपानी गाउँपालिका ३ तिलाकोटकी सृष्टि कार्कीले यस पटक राजासिममा आयोजना गरेको घोडा दौड प्रतियोगितामा भाग लिनुभएको हो ।  १४ वर्षीया सृष्टिले आफू एक वर्षदेखि घोडा चढ्दै आएकाले प्रतियोगितामा भाग लिन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँलाई सान्त्वना स्वरुप एक हजार पाँचसय रुपियाँ पुरस्कार उपलब्ध गराइएको छ । 

वि.सं २०५८ सालमा जुम्ला विमानस्थल कालोपत्र हुनुपूर्व विमानस्थलमा घोडा दौड प्रतियोगिता हुदैआएको थियो । सो समयमा तातोपानीकै राधिका रावतले घोडा दौड प्रतियोगितामा भाग लिंदा मानिसहरु अचम्मित भएका थिए । 

जिल्ला समन्य समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार विमानस्थलमा पहिले जिल्ला पञ्चायत र बहुदलपछि जिल्ला प्रशासन कार्यालयको आयोजनामा घोडा दौड प्रतियोगिता हुने जानकारी दिनुभयो । त्यो बेला बाजागाजासहित फूलपाती ल्याउने र विमानस्थलको पूर्वतिर रहेको देवतीको मन्दिरमा पूजा गरिन्थ्यो । 

घोडा दौड प्रतियोगिता दशैंको खुशीयालीको अवसरमा मनाइँदै आउने संस्कृति भएको जानकारहरु बताउँछन् । सिंजा कनकासुन्दरी गाउँपालिका ३ लुडकु निवासी तुंगनाथ उपाध्यायका अनुसार दसैंको हर्षबढाइँको अवसरमा फूलपाती भित्र्याउने, घोडा दौडाउने प्रचलन जुम्लामा छ । 

उहाँका अनुसार तत्कालीन समयमा खस साम्राज्यको राजधानी सिंजा लासीपाटनमा घोडाको मेला लाग्ने गर्दथ्यो । त्यससँगै जुम्ला विमानस्थलमा घोडा दौड प्रतियोगिता सुरु गरिएको र हाल विमानस्थल कालोपत्रे भएपछि राजा सिममा घोडा दौडाउन सुरु गरिएको छ ।