• ११ असोज २०८१, शुक्रबार

माटोका सामग्री बजारीकरणमा पालिकाको सहयोग

blog

कुमाल समुदायले तयार गरेको माटोका भाँडाहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, कात्तिक ४ गते । दाङकमा माटोका सामग्री बनाउने कुमाल समुदायलाई प्रोत्साहित गर्ने उद्देश्यले गढवा गाउँपालिकाले माटोका सामग्री बजारीकरणमा सहयोग गरेको छ । 

गढवा गाउँपालिकालाई सेरामिकको हबका रुपमा विकास गर्ने उद्देश्यअनुसार पालिकाभित्र उत्पादन भएका माटोका सामग्रीको पालिकाले बजारीकरण गर्न सुरु गरेको हो ।  

पलिकाका विभिन्न ठाउँमा माटोका सामग्री उत्पादन हुने तर बिक्रीका लागि समस्या भइरहेका बेला पालिकाले बजारीकरणमा सहयोग गरेपछि कुमाल समुदाय खुसी भएका छन् । आफै उत्पादन गर्ने र बिक्रीका लागि आफै लैजानुपर्दा खर्च बढ्ने समस्या भइरहेका बेला पालिकाले बजारसम्म लगिदिने भएपछि सहज भएको गढवा गाउँपालिका –३ निवासी रामलाल थारु कुमालले बताउनुभयो । 

पुख्यौली पेसाका रुपमा माटाका भाँडा बनाउँदै आउनुभएका कुमालले भन्नुभयो, ‘हाम्रो मुख्य पेसा नै माटोका भाँडा बनाउने हो । तर बनाउनेदेखि बजारसम्म विक्रीका लागि लैजानु पर्दा लागत धेरै लाग्नेगरेको थियो । अहिले पालिकाले निःशुल्क रुपमा बजारसम्म लगिदिन थालेपछि सजिलो भएको छ ।’ 

स्थानीय उत्पादनका रुपमा रहेका माटोका भाँडालाई बजारीकरणका लागि गढवा गाउँपालिकाले सहयोग गरिदिएपछि आफुलाई हौसला बढेको खैरा निवासी राजबहादुर थारु कुमालले बताउनुभयो । माटोका सामग्रीको बजारीकरण ठूलो समस्याका रुपमा रहेका बेला पालिकाले सहयोग गरिदिएपछि काममा सहजतासँगै उत्पादनमा  वृद्धि हुने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पहिले माटोका भाँडा बनाउनेसँगै बिक्रीका लागि बजारसम्म लैजान समस्या हुनेगरेको थियो । अहिले हामीले बनाएका सामग्री पालिकाले गाडीबाट बजारसम्म लगिदिन्छ । व्यवसायीलाई घरमै सामग्री लगिदिंदा मुल्य समेत बढी दिनेगरेका छन् ।’ उहाँका अनुसार पालिकाले गाडीका माध्यमबाट देउखुरीका लमही, भालुवाङ, घोराही, तुलसीपुरलगायतका बजारमा बिक्रीका लागि लग्नेगरेको छ । 

गढवा गाउँपालिकालाई सेरामिक हवका रुपमा विकास गर्ने उद्देश्यअनुसार कुमाल समुदायले उत्पादन गरेका माटोका सामग्री बजारीकरण गरिदिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो । उहाँले माटोबाट बनेका गमला, खुत्रुके, पाला, गमलालगायतका सामग्रीहरु बजारीकरणमा सहयोग गरेको भन्दै यसले उत्पादनमा वृद्धिसँगै आम्दानी समेत बढ्ने अपेक्षा लिइएको बताउनुभयो । 

गाउँपालिकाले कृषि एम्वुलेन्स समेत सुरु गरेको गाउँपालिका अध्यक्ष पोख्रेलले बताउनुभयो । पोख्रेलले भन्नुभयो, ‘माटोका सामग्रीसँगै पालिका भित्रका किसानले उत्पादन गरेका तरकारी, दुधलगायतका सामग्री कृषि एम्बुलेन्सका माध्यमबाट बजारीकरण गर्ने र किसानको आर्थिक अवस्थालाई सुधार गर्ने लक्ष्य रहेका छ ।’

गाउँपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानसँगको संयुक्त पहलमा परम्परागत सीपलाई आधुनिकीकरण गर्ने र गढवा गाउँपालिकालाई सेरामिकको हबका रुपमा विकास गर्ने उद्देश्यअनुसार पालिकाले योजनाबद्ध रुपमा कुमाल समुदायको माटोको भाँडा बनाउने पेसालाई व्यवस्थित, प्रविधिमैत्री बनाउनुका साथै उत्पादन भएका सामग्रीको बजारीकरणमा सहयोग गर्न थालेको अध्यक्ष पोख्रेल बताउनुभयो ।