• ११ जेठ २०८१, शुक्रबार

नवरात्रको सातौं दिन फुलतापी भित्र्याइयो

blog

नवरात्रीको सातौं दिन आज फुलपाती भित्र्याउने काम हुँदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक ४ गते । बडा दसैं अर्थात् नवरात्रको सातौं दिन शनिबार दसैं घरमा फूलपाती भित्र्याइएको छ ।  नवदुर्गा मध्येकी सातौं कालरात्री देवीको विधिपूर्वक पूजा आराधना समेत गरी कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागितामा फुलपाती भित्र्याउने काम भएको हो । 

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको नेतृत्वमा सिमकोटबाट गएको टोलीले सिमकोट गाउँपालिका –५ को थलाहाल्नबाट फुलपाती ल्याउने काम गरेको छ । थलाहाल्नबाट ल्याएको फुलपातीको डोली सुरक्षाकर्मीले बोकेर ल्याई त्यहाँबाट सुरक्षा निकायका मन्दिरमा भित्र्याइएको हो । प्रजिअ पौडेलले जिल्लामा फुलपाती भित्र्याउने काम भएको बताउनुभयो । 

तीन वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले यो काम गर्नुभएको हो । टोलीले एक घण्टा टाढाको स्थानबाट पैदल हिडेर फुलपाती ल्याउने काम गरेको हो । दुर्गा पक्षको सातौं दिन कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

प्राणी मात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता रहेको छ । देवीको स्वरूपलाई कालरात्री भनिन्छ । कालरात्री कृष्ण वर्णको हुनुका साथै यिनी भयंकर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्री भनिएको पौराणिक ग्रन्थमा उल्लेख छ । 

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् ।