• ५ जेठ २०८१, शनिबार

खडक देउता वैदिक विधिपूर्वक भित्र्याइयो

blog

पृथ्बीनारायण शाहले जाजरकोटी राजालाई दिएको खडग देउता गैरीखालीमा पूजाअर्चना गरिदै । तस्विर : वासुदेव शर्मा

वासुदेव शर्मा 

जाजरकोट, कात्तिक ४ गते । नेपाल एकीकरणका बेला गोरखाका राजा पृथ्वीनारायण शाहले जाजरकोटी राजालाई उपहारस्वरूप दिएको खडक देउता वैदिकपूर्वक भित्र्याइएको छ । 

बडादसैँको सातौँ सप्तमीका दिन फूलपातीसँगै भगवतीको प्रतीक मानिएको खडग देउता जाजरकोट दरबारमा भित्र्याएको हो । वैदिक हिन्दु संस्कारअनुसार कालिका भगवतीको मन्दिरमा रहेको खडग देउता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सर्वसाधारणले बाजागाजासहित जाजरकोट दरबारमा भित्र्याएको हो ।

विगत २८ वर्ष अघि जगतिपुरबाट बाजागाजासहित जाजरकोट दरबारमा ल्याउने गरिन्थ्यो । तर तत्कालीन माओवादी र सरकार पक्षबिच भएको सशस्त्र द्वन्द्वका कारण कालिका मन्दिरबाट जाजरकोट दरबारमा ल्याउने गरिएको छ । 

गत वर्ष दुई–चार जना उपस्थित भएर भित्र्याउने खडग देउता यस वर्ष भने बाजागाजासहित भगवती माताको जयजयकार गर्दै दरबारमा लगिएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिस्थानका अध्यक्ष जनक केसीका अनुसार विगतमा दसैँको नवमीका दिन राँगाको बली दिन गरिन्थ्यो । सशस्त्र युद्धका कारण राँगाको बली दिएको थिएन । यतिवेला जाजरकोट सम्पदा संरक्षण प्रतिस्थानले राँगो किनेर बली दिने निर्णय गरेको छ । 

जाजरकोटी राजाले गर्ने संस्कार धर्म संस्कृतिलाई बचाई राख्न आगामी वर्ष प्रतिस्थानले पुरानै लयमा फर्काउने अध्यक्ष केसीले बताउनुभयो । फूलपातीसँगै खडग देउता व्रह्रामणद्वारा पूजाआजा गरी नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, आश्रित गुल्मले भगवती सलामी अर्पण गरी गैरीखाली हुँदै जाजरकोट दरबार भित्र्याएको छ ।