• १३ असोज २०८१, आइतबार

प्लास्टिकजन्य फूल बिक्रीवितरणमा कडाइ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ४ गते । प्लास्टिकजन्य फूल गुच्छा बिक्रीवितरणमा सरकारले कडाइ गर्ने भएको छ । सरकारी स्तरमा अनुगमन गर्ने र त्यसरी बिक्रीवितरण गरिरहेकालाई कानुन अनुसार कारबाही गर्ने सरोकारवालाबिच सहमति भएको छ । वन तथा वातावरण मन्त्रालयले २०७९ साल साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपालभर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिव्रmीवितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएको थियो तर त्यो प्रभावकारी नभएको गुनासो आएपछि गृह मन्त्रालयले कात्तिक २ गते सरोकारवालासँग छलफल गरेको छ । 

सो छलफलबाट सरकारले गरेको निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि अनुगमनलाई तीव्रता दिने र दोषी पाइएमा कारबाही गर्ने सहमति भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । अवैध रूपमा आयात हुने फूल, माला तथा माटोसहितको बोटबिरुवा सबै भन्सार नाकामा सुरक्षा अधिकारीले रोक लगाउने निर्देशन गृह मन्त्रालयले दिएको अध्यक्ष तामाङले 

बताउनुभयो । आउँदै गरेको तिहारलाई लक्षित गरी प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्री भित्र्याउन लागेको भन्दै फूल व्यवसायीले सरकारलाई ध्यानाकर्षण गराएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट एकीकृत बजार अनुगमन गर्ने र कानुनविपरीत बिक्रीवितरण गरेको पाइएमा नियमानुसार कारबाही गरिने छलफल भएको उहाँले बताउनुभयो । साथै सबै भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन कार्यालयलाई थप प्रभावकारी बनाउनुका साथै बजारमा कृत्रिम अभाव सिर्जना गरी कालो बजारी गरेको पाइएमा कानुन अनुसार कारबाही गर्नेसमेत निर्देशन भएको उहाँले बताउनुभयो ।