मोरङ, कात्तिक ३ गते । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले सो कुरा बताउनुभएको हो । कोशी प्रदेशको तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी प्रदेशसभा सदस्य कार्कीको नेतृत्वमा सरकार निर्माण गरिएको बताउनुभयो । उहाँले कोशी प्रदेश सरकार गठनबाट सङ्घीय र वाग्मती सरकारलाई कुनै असर नपर्ने बताउनुभयो ।
कोशी प्रदेश सरकारमा अहिले सहभागी दलले निरन्तरता पाउने बताउँदै नेता कोइरालाले आवश्यकताअनुसार तिहार अगाडि सरकार विस्तार हुने जानकारी दिनुभयो । उहाँले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नहुनु संवैधानिक त्रुटी भएको टिप्पणी गर्नुभयो । रासस