• २६ वैशाख २०८२, शुक्रबार

पत्रकारले सही तथ्य बाहिर ल्याउनु पर्छ : मुख्यमन्त्री यादव

blog

धर्बेन्द्र झा 

धनुषा, कात्तिक ३ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका पत्रकारलाई दक्ष बनाउन विभिन्नखालका तालिम गोष्ठीको आयोजना गर्न आमसञ्चार प्राधिकरण मधेश प्रदेशलाई निर्देशन दिनुभएको छ । 

आमसञ्चार प्राधिकरण मधेश प्रदेशको सहयोगमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम वरिष्ठ पत्रकार धर्मेन्द्र झाद्वारा लिखित पत्रकारिता प्रशिक्षणसम्बन्धी एकीकृत स्रोत पुस्तकको शुक्रबार विमोचन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले पत्रकार पनि अहिले दल र जातमा केन्द्रित हुन लागेको भन्दै पत्रकारले दल र जातभन्दा माथि उठनुपर्ने बताउनुभयो । उहाँले पत्रकारले सही तथ्य बाहिर ल्याउनुपर्ने भन्दै दक्षताको अभावमा कहिलेकाँही नचाहेर पनि सही लेखन नहुने गरेकाले पत्रकारलाई दक्ष बनाउन आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध भएको बताउनुभयो । 

पत्रकारले सही सुचना प्रवाह गरेमा समाजमा त्यसको सकारात्मक प्रभाव पर्ने भएकाले सूचना संकलनको समयमा हतार गर्नु नपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारको सन्दर्भमा पनि बास्तविक कुरा पत्रकारले बाहिर ल्याएमा प्रदेश सरकारलाई काम गर्न सहज हुने उहाँले बताउनुभयो ।

केही दिनअघि एउटा मिडियाले मुख्यमन्त्री र अर्थमन्त्रीको वीचमा बोलचाल नभएका कारण कर्मचारीले तलव नपाएको समाचार प्रकाशन गरेको विषयमा आपत्ति जनाँउदै मुख्यमन्त्री यादवले त्यस्तो कुनै अवस्था नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो,  “मेरो नेतृत्वमा गठित मन्त्रिपरिषदको सदस्यले मेरा कुरा मान्नुपर्छ । नमाने म तुरुन्त कारवाही गरी वरखास्त गर्न सक्छु । चाहे मेरो सरकार रहोस् या नरहोस् ।” उहाँले संघको असहयोगको कारण सोचेर पनि चाहेअनुसारको काम गर्न नसकेको भन्दै प्रदेश सरकारले गरेका सकारात्मक कामको विषयमा जनतालाई जानकारी गराउन पत्रकारसँग आग्रह गर्नुभयो । 

कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले प्राधिकरणले एक वर्षमा गरेका कामकाजको बारेमा जानकारी गराउँदै पत्रकारलाई दिंदैआएको लोक कल्याणकारी विज्ञापनका लागि वजेट उपलब्ध गराउन आग्रह गर्नुभयो । कार्यक्रममा गृह, सञ्चार तथा कानून मन्त्री मोहोमद समिमसहितका मन्त्रीहरुको सहभागिता थियो ।