• ११ मंसिर २०८१, मङ्गलबार

सातै प्रदेशमा पुग्दै कन्दरा

blog

शुक्रबार आयोजित कार्यक्रममा बोल्दै कन्दराका संस्थापक गायक विवेक श्रेष्ठ । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक ३ गते ।
तीन दशकअघि पोखराबाट उदाएको कन्दरा ब्यान्डले हालै नयाँ सदस्य थपेको छ । कुनै बेला नेपाली संगीतमा चर्चित ब्यान्डले अहिले पुनरागमनको तयारी गरेको हो । घर आउँदै कन्दरा नाम दिएर यसले यही मङ्सिर १६ गते पोखरामा विशेष कार्यक्रम गर्ने भएको छ ।

पहिले घरदेश अनि परदेश र घरदेश घुमौँ पर्यटनको प्रवर्द्धन गरौँ भन्ने उद्घोषका साथ देशका सातै प्रदेश र मुख्य सहरमा सांगीतिक कार्यक्रम गरी राजधानी काठमाडौंमा कन्दरा सांगीतिक क्रियात्मक अभियान समापन गर्ने तयारी छ ।

ब्यान्डका संस्थापक विवेक श्रेष्ठले यो सांगीतिक अभियानलाई पर्यटन प्रवर्द्धनसँग जोडिएको उल्लेख गर्नुभयो । पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा कार्यक्रम हुन लागेको हो ।

परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ संगीतको माध्यमबाट नेपालको पर्यटनलाई मलजल गर्दै चलायमान र गतिशील बनाउन कन्दरासँग जोडिएको बताउनुहुन्छ ।

कन्दराले अहिलेसम्म छ वटा एल्वम र सयौँ गीत बजारमा ल्याइसकेको छ । आगामी शुक्रबार नयाँ गीत सार्वजनिक गर्ने कन्दराको तयारी छ । संस्थापक श्रेष्ठले तीन नयाँ र दुई पुराना गीतसहित आफूहरु स्वदेश र परदेशमा जाने बताउनुभयो ।

कन्दराले मुलुकभित्र र मुलुकबाहिर गरी दुई सयभन्दा बढी कन्सर्ट गरिसकेको छ । कन्दराका संगीतकार सुनील थापा लोकपप शैलीमा रमणीय प्राकृतिक परिवेशको चित्रण, माया पिरतीका भाका, मानिसका विवशता, देशप्रेमको भावनाले ओतप्रोत भएका गीत कन्दराको पहिचान भएको बताउनुहुन्छ । 

शुक्रबार पोखरामा आयोजित कार्यक्रममा कन्दराका संस्थापक एवम् गायक विवेक श्रेष्ठले  हालै रेडियो नेपालमा कन्दराले पाँच वटा गीतको ‘वान टेक रेकर्डिङ र सुटिङ’ गरेको सुनाउनुभयो ।

सन् १९९५ मा पहिलो एल्वम चन्चले कान्छी, १९९६ मा डाँडापारी एल्वमको लेककी हे माया, तिमीपारी र विदेशिएर गइन् उनी, सन् १९९८ मा हङकङ पोखरा, २००६ मा तगारोमा रुमाल राखी आदि कन्दराका चर्चित गीत छन् ।