जनार्जन खत्री
सर्लाही, कात्तिक ३ गते । नेपालीहरुको महान चाड दसैंमा समेत सरकारले उखुको अनुदान उपलब्ध नगराएपछि सर्लाहीका उखु किसानले शुक्रबार हरिवनमा प्रदर्शन गरेका छन् ।
प्रत्येक वर्ष दसैंमा किसानलाई उखुको अनुदान रकम उपलब्ध गराइन्थ्यो । तर यो वर्ष भने दसैंमा अनुदान रकम हात नलागेपछि आक्रोशित किसानले हरिवनस्थित पूर्व–पश्चिम राजमार्गमा भेला भएर प्रदर्शन गरेका हुन् ।
मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले शुक्रबार साङ्केतिक आन्दोलन गरिएको र दसैंपछि थप आन्दोलन गर्ने चेतावनी दिनुभयो । किसानलाई कति दुःख र समस्या छ ? भन्ने कुरा सरकारले बुझ्दै नबुझेको उप्रेतीले गुनासो गर्नुभयो ।
उहाँका अनुसार सङ्घीय सरकारले असोज २५ गतेसम्म जिल्लामा रकम पठाउने आश्वासन दिएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलिनिका) मलङ्गवाका कोष नियन्त्रक पुरुषोत्तम बरालका अनुसार सर्लाहीका लागि प्राप्त हुनुपर्ने २९ करोड २५ लाख ५२ हजार ७४९ रुपियाँ ३ पैसामध्ये बिहीबार भर्खर नौ करोड रुपियाँ मात्रै प्राप्त भएको छ ।
दसैं लगत्तै बाँकी रकम निकासा भए कार्यालयले गर्नुपर्ने काम पूरा गरी तिहारअघि किसानको खातामा पैसा पठाउन सम्भव हुने कोष नियन्त्रक बरालले बताउनुभयो । सरकारले गएको वर्ष क्रसिङ सिजन २०७९/०८० मा उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपियाँ निर्धारण गरेकोमा चिनी उद्योगले ५४० रुपियाँ भुक्तानी गर्ने र बाँकी ७० रुपियाँ सरकारले अनुदान बापत उपलब्ध गराउने उल्लेख छ ।
दसैं सुरुभएसँगै नयाँ उखु रोप्ने समय भएकाले सरकारबाट अनुदान रकम नपाउँदा किसान आर्थिक सङ्कटमा परेका नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । शुक्रबारबाट आन्दोलन सुरु गरेका किसानलाई स्थानीय प्रशासनले दसैंपछि अनुदान रकम उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाएपछि तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् ।
हरिवनमा भेला भएका जिल्लाभरका उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन मधेश प्रदेशसभाका सदस्य जवाहारलाल कुशवाहा समेत उपस्थित हुनुभयो । मिलगेट उखु उत्पादक समितिका अध्यक्ष राजकुमार उप्रेतीले दसैं लगत्तै अनुदान उपलब्ध नगराए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।