प्रनिश गिरी
कुश्मा पर्वत, कात्तिक ३ गते । गण्डकी प्रदेशअन्तर्गत अस्पतालको न्यूनतम सेवा मापदण्डका आधारमा पर्वत अस्पताल प्राइमरी अस्पतालमध्ये उत्कृष्ट बनेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको अस्पताल सुदृढीकरण कार्यक्रमअन्तर्गतको न्यूनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न हुँदा पर्वत अस्पताल पहिलो भएको हो ।
पर्वत सदरमुकाम कुश्मामा रहेको जिल्ला अस्पतालले प्रदेशका ११ अस्पतालमध्ये ८५ अङ्क प्राप्त गरी पहिलो बन्न सफल भएको हो भने दोस्रो हुने दमौली अस्पतालले ८२ अङ्क र तेस्रो मातृशिशु मितेरी अस्पताल कास्कीले ८० अङ्क प्राप्त गरेका छन् । न्यूनतम सेवा मापदण्डका आधारमा सुशासन, व्यवस्थापन, स्वास्थ्य उपचार सेवा लगायतका कुरा पर्दछन् ।
जिल्लाको स्वास्थ्य क्षेत्रमा २०४६ सालदेखि सेवा दिँदै आएको जिल्ला अस्पतालमा दुई डाक्टरसहित १३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ । पर्वत अस्पताल प्रमुख डा. हेमन्त बाFस्तोलाका अनुसार १५ शय्याको अस्पताल भनिए पनि ५६ वेड सञ्चालन गरी बिरामीलाई सेवा प्रदान गरिएको छ । अस्पतालमा स्वास्थ्य उपचारका लागि दैनिक १८० देखि तीन सय जना बिरामी आउँछन् ।
अस्पतालमा नियमित बिरामी चेकजाँचबाहेक ल्यावटेस्ट, भिडियो एक्सरे, इसिजी लगायतका सुविधा उपलब्ध छ । स्वास्थ्य बिमा गरेका नयाँ व्यक्ति तथा नियमित चेकजाँच गर्नुपर्ने व्यक्तिहरु उपचार सेवा लिन आउँदा अस्पतालमा आउने बिरामीको चाप वर्षेनी बढ्दो छ ।
स्वास्थ्य सेवा लिनेको सङ्ख्या बढ्दो बारेमा अस्पतालका अध्यक्ष शङ्कर गिरी भन्नुहुन्छ, “अस्पतालले दिँदै आएको उपचार सेवामा धेरै सुधार गरिएको छ । विगत सात वर्षदेखि अस्पताल कार्यकारी प्रमुखविहीन रहेकोमा अहिले कार्यकारी प्रमुख रहनुभएका डाक्टरको सेवा अस्पतालबाट मिलेको छ । अस्पतालमा थप भवन निर्माण गरेपछि स्वास्थ्य सेवा प्रभावकारी बनाउन शय्या बढाएर ५० बनाउनुपर्छ ।”
अस्पतालले २०७७ जेठ १ गतेदेखि स्वास्थ्य बिमा सेवा प्रदान गर्दै आएको हो । अस्पतालका अनुसार स्वास्थ्य सेवा लिन आउने व्यक्तिहरुले आफूलाई आवश्यक पर्ने तीन सयदेखि चार सय थरीको औषधि अस्पतालबाट निःशुल्क प्राप्त गर्न सक्छन् ।