चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ३ गते । ताप्लेजुङका व्यवसायीलाई व्यावसायिक मापदण्ड पालना नगरे कारबाही हुने अनुगमन समितिले चेतावनी दिएको छ । बिहीबार फुङ्लिङ नगरपालिकाको संयोजनमा गरिएको बजार अनुगमनका क्रममा व्यावसायिक मापदण्ड उल्लङ्घन भएको पाइएपछि व्यवसायीलाई दण्ड जरिवानासहित कारबाही हुने चेतावनी दिइएको हो ।
समितिले व्यवसाय सञ्चालन गर्दा कारोबार स्थलमा दर्ता प्रमाणपत्र राख्नेदेखि, प्रचलित मूल्यमा मात्र वस्तु तथा सामग्री बिक्री गर्नुपर्ने, अखाद्य वस्तु बिक्री गर्न नहुनेजस्ता मापदण्डमा भएको व्यवस्थाअनुसार सर्त र प्रक्रिया अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
यस्तै, बिल लिने–दिने प्रक्रिया पालना नभएकोदेखि इजाजतपत्र नलिई अन्तःशुल्क लाग्ने वस्तुको बिक्री वा सञ्चय गरे हुनसक्ने दण्ड र जरिवानाबारे पनि सम्बन्धित व्यवसायीलाई सचेत गराइएको छ ।
बजार अनुगमन कार्यदल संयोजक तथा फुङ्लिङ नगरपालिकाका कर्मचारी तुलसा निरौलाका अनुसार खाद्यान्न पसल, फलफूल तथा तरकारीजन्य पसल, माछा तथा मासुजन्य बिक्री स्थलको अनुगमन तथा निरीक्षण गरिएको छ । व्यवसाय दर्ता प्रमाणपत्र कारोबारस्थलमा नराखेमा, करपाटी नराखेमा साथै उपभोग्य वस्तुको जाँच परीक्षणमा बाधा अवरोध पुर्याएमा प्रत्येक पटक एक हजारदेखि २० हजार रुपियाँसम्म जरिवाना हुनेबारे व्यवसायीलाई सचेत गराएको निरौलाले जानकारी दिनुभयो ।
अनुगमनमा संलग्न ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले व्यवसाय दर्ता, नवीकरणसहितका वैधानिक प्रक्रिया पालना गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । उपभोग्य वस्तु बिक्री गर्न र आफूले खरिद गरेको वस्तु तथा सामान उपभोग गर्न लायक भए नभएकोबारे यकिन गरेर मात्र खरिद गर्न उपभोक्तालाई पनि उहाँले आग्रह गर्नुभएको छ ।