• १८ वैशाख २०८१, मङ्गलबार

हिजोको दसैँ र आजको परिदृश्य

blog

या देवी सर्वभूतेषु शान्तिरूपेण संस्थिता ।।

नमस्तस्यै ।। नमस्तस्यै ।। नमस्तस्यै नमो नमः ।।

(जुन देवी सृष्टिका सबै प्राणीमा शान्तिरूप भई विराजमान् हुन्छिन्, उनै देवीलाई हाम्रो सादर प्रणाम छ ।)

प्रत्येक वर्ष दसैँका अवसरमा दुर्गा सप्तशतीका यी र यस्तै अन्य संस्कृतका श्लोक श्रवण गर्न पाउँदा भाषिक रूपमा त्यसको केही अर्थ नलागे पनि मन भने निकै आनन्दित हुन्थ्यो मेरो बाल्यकालमा । कहिले बा, कहिले दाजुहरू कुशासनमा आसन जमाएर धूपधुवाँर गरी डेढ दुई घण्टा समय खर्चेर दैनिक एक आवृत्ति दुर्गा सप्तशती पाठ गर्नुहुन्थ्यो दसैँको नवरात्रिभरि । घरमा देवीको आगमन भएको आभास हुन्थ्यो त्यतिखेर ।

संस्कृतका यी श्रुतिमधुर श्लोक सुनेपछि म निकै प्रभावित हुन्थेँ । ‘अहा ! यसरी मैले पनि पाठ गर्न सके कस्तो हुन्थ्यो’ भने जस्तो लाग्थ्यो मनमा । त्यतिखेरका साधारण विद्यालयमा दुई तीन कक्षा बल्लतल्ल पढेको किशोरका मनमा यस किसिमको हुटहुटी लाग्नु अन्यथा पनि थिएन । त्यसमाथि सनातनी धार्मिक परम्परामा विश्वास राख्ने ब्राह्मण कुलको केटालाई यस किसिमको धार्मिक वचन प्रिय लाग्नु स्वाभाविकै पनि थियो । पछि आपूmले पनि त्यो पाठ गर्न थालेपछि आपूmले ठुलै युद्ध जितेको महसुस गर्न थालेँ मैले । अहिले पो समय बेग्लै धारतिर दौडिन थाल्यो र त्यस्तो मान्यतामा पनि ह्रास आउन थाल्यो । 

दसैँ देवताहरूले पनि मानिआएका आदिशक्ति दुर्गा देवीको पूजा आराधना गर्ने, मांस भोजनमा बानी परेकाका लागि मासुमा रमाउने र टोलटोलमा निर्माण गरिएका लिङ्गेलगायतका पिङमा सरररर हुत्तिने वार्षिक चाड पनि हो । वर्षभरिको दुःख भुलेर परिवारका सबै सदस्य, अन्य आफन्त तथा नाता कुटुम्बका मानिस भेटघाट गर्दै भएभरका सबै दुःख मिल्काएर खुसी भिœयाउन कामना गर्ने अवसर पनि हो यो हिन्दुहरूको महान् चाड बडादसैँ ।

दसैँको टीका अर्थात् विजया दशमीका दिनदेखि पूर्णिमासम्म घरमा टीका थाप्न आउनेको भिड लाग्थ्यो । बा विजया दशमी अर्थात् टीकाको दिन दिनभर भोकै बसेर आशीर्वाद थाप्न आउनेलाई टीका जमरा लगाइदिनुहुन्थ्यो । प्रसाद दिनुहुन्थ्यो । टीका थाप्ने र दिने दुवै प्रफुल्ल हुन्थे । विजया दशमीपछिका अरू दिनमा भने बिहान मात्र टीका लगाउने चलन थियो । अहिले जस्तो पेटभरि हसुरेर जुन दिन पनि टीका लगाउने चलन त्यतिखेर थिएन । टीका थाप्न आउनेहरू पनि यही नियमको पालना गर्थे । भोकै आउँथे, भोकै टीका थाप्थे । एउटा निश्चित मर्यादामा चलेको थियो त्यतिखेरको सनातनीय परम्परा । टीकाका दिन बिहानैदेखि नुवाइधुवाइ गरेर हामी कतिखेर टीका लगाउने भनेर जम्मा भएर बस्थ्यौँ । बा आमालगायत आपूmभन्दा माथिका सबैले सबैलाई टीका लगाउने चलन हुन्थ्यो । टीका थाप्दा दिने आशीर्वाद खुब ध्यान दिएर सुनिन्थ्यो । टीका लगाउँदा टीका, जमरा र तलको आशीर्वचन श्लोक विशेष लाग्थ्यो–

आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।

शौर्यं शान्तनवे बलं हलदरे सत्यञ्च कुन्तीसुते ।

विज्ञानं विदुरे भवन्ति भवतां कीर्तिश्च नारायणे ।।

टीकामा दिने आशीर्वादमा पनि नारी र पुरुषमा भेद हुन्थ्यो । माथिको श्लोक पुरुषलाई टीका लगाउँदा भनिन्थ्यो भने नारीका हकमा तलको देवी श्लोक पढेर टीका लगाइन्थ्यो– 

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणी ।

जय सर्वगते देवी कालरात्रि नमोऽस्तुते ।।

उल्लिखित संस्कृतका श्लोक पढिसकेपछि नारी पुरुष दुवैलाई मान्छे हेरेर सन्तानले डाँडाकाँडा ढाकून्, जिउमा रोग नलागोस्, हिँड्दा ठेस नलागोस्, आस गर्नेलाई आस पु¥याएर खान पुगोस्, राम्रोसँग पढ्न लेख्न आओस्, सरकारको सिन्दुर परोस्, ठुल्ठुलो मान सम्मान प्राप्त होस्, सरकारको सुब्बा भएस्, मनले चिताएको पुगोस्, दीर्घायु होस् जस्ता कथात्मक आशीर्वादहरू दिइन्थ्यो । जुन आशीर्वादहरू नेपाली भाषामा भनिने र आपूmले पनि सजिलोसँग बुझ्ने भएका कारण ती आशीर्वाद अभैm विशेष लाग्थे त्यतिखेर । आशिष सुनेपछि फुर्कन्थ्यौँ । रमाउँथ्यौँ । आशिष दिनेले कसैलाई केही भन्न छुटाए भने उसलाई भन्दा मलाई बढी आशिष भनेर बहस गथ्यौँ । 

त्यतिखेरको कुरो गर्दा र सम्झँदा अहिले हाँसो उठ्छ । म यतिखेर तेह्र वर्षको उमेरभन्दा अगाडिको कुरा गरिरहेछु । मैले गाउँकै विद्यालयमा तीन कक्षासम्म पढेँ । त्यसभन्दा माथि गाउँको विद्यालयमा पढाइ हुँदैनथ्यो । हाम्रो घरमा काठमाडौँ पढ्न आउनेको लाम निकै लामो थियो । मेरो पालो आएको थिएन । मैले चार वर्ष विद्यालयविहीन भएर गाई गोठालो लागेर समय गुजारेँ । त्यतिखेर दसैँ आउनुभन्दा तीन चार महिनाअघिदेखि नै दसैँ लाग्थ्यो हामीलाई । कारण अचम्मको छ । 

दसैँमा नयाँ लुगा किन्ने र मासु खाने कुराले निकै कौतूहल बनाउँथ्यो हामीलाई । दसैँमा बढीमा सेतो कमिज सुरुवाल र घटीमा खेसका सेता गन्जी र अन्डरवयर दिने चलन थियो । सेता गन्जी र अन्डरवयर लगाउन पाएपछि हामी दसैँ लागेर उफ्रन्थ्यौँ । रमाइलोले सीमा नाघ्थ्यो । अघिपछि मासु खाने चलन उतिविधि थिएन नै भन्दा पनि हुन्छ । दसैँबाहेक साउने सङ्व्रmान्ति, माघे सङ्व्रmान्ति, चैते दसैँ र अरू यस्तै दिनमा मात्र खसी÷बाख्रा काटेर खाने चलन थियो । एक धार्नी मासु ल्याएर भाँडोभरि झोल हालेपछि त्यसले पच्चिस तिस जनाको भान्छा उल्लासमय हुन्थ्यो । 

दसैँमा पेटभरि मासु खान पाइने कारणले दसैँँ आउनुभन्दा तीन चार महिनाअघिदेखि नै दसैँको चासो बढ्थ्यो हामीमा । चुनावको घोषणापछि निर्वाचन आयोगले मतदान हुन अब यति दिन बाँकी भनेर फलाके जस्तै हामी पनि तीन चार महिनाअघिदेखि नै प्रत्येक दिन दसैँ आउन अब यति दिन बाँकी भनेर गणना गरिरहन्थ्यौँ । कसैले गणना बिगा¥यो भने हामी केटाकेटी सबै बसेर गणना बिगार्नेलाई सपार्न भन्थ्यौँ । दसैँअघिको रौनक नै बेग्लै हुन्थ्यो । अहिले जस्तो छाकैपिच्छे मासु र महिनैपिच्छे नयाँ लुगा लगाउन पाएको भए त्यस्तो मज्जा किन भित्रन्थ्यो तीन चार महिनाअघिदेखि । 

गोठमा गाई, भैँसी र खसीबाख्राहरू हुन्थे । दुहुना गाईवस्तु र खसीबाख्रा घरकै आडमा हुन्थे । त्यसदेखि बाहेकका गाईवस्तु घरभन्दा पर खेतबारीका आसपास कतै बाँधेर त कतै चराएर पालिन्थ्यो । दसैँमा अलिक फुर्सद मिलाएर रमाइलो गर्नका लागि पहिल्यैदेखि घाँसको जोहो गरिन्थ्यो । दसैँका लागि छुट्टै स्थानमा घाँस पालेर राखिन्थ्यो । दसैँका बेलामा मात्र काटिन्थे त्यस्ता घाँस । दसैँ आउनुभन्दा तीन चार दिन अघिदेखि ती घाँस काटेर सुरक्षित गरी राखिन्थ्यो । एउटाले काटेको घाँस अर्काले चलाउन पाउँदैनथ्यो । दसैँका दिनमा त्यसरी व्यवस्था गरिएका घाँस भएका वस्तुभाउलाई मिलाएर दिइन्थ्यो र दसैँभरिलाई पु¥याइन्थ्यो । तोकिएको समयमा घाँस र पानी दिएपछि वस्तुभाउलाई त्यही दसैँ हुन्थ्यो । दसैँका बेलामा घाँस काट्न र वस्तुभाउ चराउन नपरेपछि हामीलाई छुट्टै मज्जा हुन्थ्यो र ढुक्कले दसैँ मनाउन पाउँथ्यौँ । 

गाउँघरमा प्रायः प्रत्येक घरमा सिङ्गासिङ्गै खसी काटिन्थ्यो । गोठका काम सकेपछि बाँकी भएको समयमा मासु खाने, पिङ खेल्ने, दोहोरी गीत सुन्ने, केटाकेटीहरू जम्मा भएर गफिने, आआफ्ना विषयमा धाक लगाउने, हाम्रा गोरु यस्ता तिमीहरूका त्यस्ता जस्ता गफ पनि चल्थे । केटाकेटी उमेर न हो, कस्ता गफले कस्तो असर पर्छ हामीलाई के थाहा ?  

हाम्रो टोल बस्तीमा ब्राह्मणभन्दा तामाङको बाहुल्य थियो । तथापि अहिलेको जस्तो मन कुँड्याउने जातीय बहस हुँदैनथ्यो त्यतिखेर । एकै घरका दाजुभाइ, दिदीबहिनी जस्तो गरेर गफगाफ हुन्थ्यो । आपसी व्यवहार पनि त्यस्तै शालीन थियो । देखिने वा नदेखिने कुनै रूपमा पनि जातीय मतभिन्नता थिएन । एकआपसमा खेतीपातीका लागि भारोपर्म चल्थ्यो । सबै जाति एक आपसमा हात मिलाएर हिँड्थे । अहिले जस्तो धमिरा लागेको समाज थिएन त्यतिखेर । न भड्काउको राजनीति थियो, न फुटाउको । हुन त अहिलेको भन्दा राजनीतिक चेतना पनि निकै कम थियो त्यतिखेर । राजनीतिक चेतना सकारात्मक हुने भए अहिले पनि त्यतिखेरको मेलमिलापभन्दा कम हुने थिएन अहिलेको सौहार्दता । बिगार्नेहरू जगमा छैनन्, माथि छन् । त्यही भएर जगमा हुनेहरू पीडा बाँचिरहेछन् यतिखेर । आपसी बेमेल र फुट बाँचिरहेछन् यतिखेर । त्यही भएर त यसले सामाजिक विकास र सांस्कृतिक सौहार्दतामा चिरकालसम्म टेवा पुग्छ भन्नेमा शङ्का बढ्दै गएको छ यतिखेर ।

भाउबेसाहा सस्तो थियो । खाद्यसँग सम्बन्धित आपूmले उपभोग गर्ने सामान आपैmँ उत्पादन गर्थे किसानहरू । दसैँका लागि आवश्यक खसीबाख्रा र राँगाहरू आआफ्नै घरमा हुन्थे । अपवादबाहेक अधिकांश मानिस सरल थिए । चाडपर्वका सामान्य किनमेलका लागि पनि नेपाल (काठमाडौँ) धाउनुपथ्र्यो । म २०२७ सालको अन्तिममा नेपाल आउँदा खसीको मासु चौबिस रुपियाँ धार्नी थियो । दुई रुपियाँ पाउ । अहिले किलोकै पन्ध्र सय । तीन सय रुपियाँ पाउ । यो उदाहरण मात्र हो । यही रफ्तारमा अगाडिएको छ अरू सबै वस्तुको मूल्य पनि । अहिले कमाइ पनि छ, खर्च पनि त्यत्तिकै छ । तर त्यतिखेरको पैसाको मूल्यभन्दा अहिलेको पैसाको मूल्यमा धेरै गिरावट छ । तुलनात्मक रूपमा पैसाको मूल्य पटक्कै छैन यतिखेर ।

दसैँको परिदृश्य फरक छ अहिले । हिजो जस्तो छैन समग्र समाज । हामीलाई जस्तो रमाइलो अहिलेका केटाकेटीमा छैन । न खानपानमा चासो छ न लवाइमा । न खेलबाडमा चासो छ न नाचगानमा । खानमा दुःख भए न यसो मिठो खान पाउँदा मन रमाउँछ । लाउनमा दुःख भए न यसो नयाँ लाउन पाउँदा मन रमाउँछ । अहिले जतिखेर जे भन्यो त्यही खान पाइन्छ, जतिखेर जे भन्यो त्यही लाउन पाइन्छ । जहाँ जाऊँ भन्यो त्यहीँ जान पाइन्छ । जहाँ जे खेल्न मन लाग्यो त्यही खेल्न पाइन्छ । अनि केको दसैँ, केको तिहार ? हुनेका लागि सधैँ दसैँ, सधैँ रमाइलो । नहुनेका लागि न हिजो थियो दसैँ, न आज छ ।

धार्मिक हिसाबले पनि हिजो जस्तो छैन आजको समाज । हिजो आस्थाका हिसाबले धर्मकर्ममा तल्लीन हुन्थे मानिसहरू । अहिले आस्थाले भन्दा पनि देखाउनका लागि हुन्छन् यस्ता कार्य । चलनचल्तीको भाषामा भन्ने हो भने अहिले मानिसहरूले गर्ने धार्मिक व्रिmयाकलाप र मन्दिरहरूमा पूजापाठका लागि जाने काम फेसनको रूपमा छ । आस्था हराएर फेसन बन्न पुगेपछि जुन कुनै कार्य पनि सक्कली हुँदैन । पूर्ण फलदायी हुँदैन । त्यसमाथि अहिलेका मानिसहरू बढी भौतिकवादी भएका छन्, हरव्रिmयाकलापमा उनीहरू कारण र प्रमाण खोज्छन् । यसले नास्तिकतालाई बढावा दिएको सोझो अनुमान जोकसैले पनि गर्न सक्छ । अहिले हामीले मान्ने दसैँ पनि बढी देखावटी भएको छ । पाठपूजा र धार्मिक व्रिmयाकलापमा भन्दा मानिसहरू उपभोगमा बढी तल्लीन हुन थालेका देखिन्छन् । स्वास्थ्यलाई समेत ख्याल नराखी जथाभावी खाने, पिउने र त्यो पनि आवश्यकताभन्दा बढी उपभोग गर्ने संस्कृति र बानीबेहोराको विकासले अन्ततोगत्वा उसको स्वास्थ्यमा असर पु¥याइरहेको हुन्छ भन्ने कुरामा अधिकांशले चासो राखेको देखिन्न । यस्ता कुरामा नजान्नेले भन्दा जान्नेले बढी हेलचक््रयाइँ गरिरहेको देखिन्छ ।

जे होस् सनातनदेखि चलिआएको चाड पर्व, रीतिरिवाज, धार्मिक अनुष्ठान आदि कुरामा हामी सचेत हुनै पर्छ । त्यसको रक्षा र संवर्धनले हाम्रो सांस्कृतिक धरोहर छिन्नभिन्न हुन पाउन्न । यसले एकातिर हाम्रो सांस्कृतिक पहिचान दीर्घकालसम्म जीवन्त रहन्छ भने अर्कातिर हाम्रो मानसिक स्थितिलाई सन्तुलनमा राखिरहन पनि यसले मद्दत पु¥याउँछ । खाँचो छ केवल सकारात्मक सोचको । 

अहिले मैले बाँचिरहेको समाज भोलिपर्सिको मेरो पुस्ताले पनि गर्व गर्नलायक होस् भन्ने कुरामा हामी सबै सचेत हुनै पर्छ । मनमा धार्मिक आस्था राखेर मनलाई शान्त बनाएर सप्तशतीका यीलगायतका श्लोक अघिपछि नसके पनि नवरात्रिभरि मात्र पनि पाठ गर्न गराउन सके कसलाई के क्षति हुन्छ र ? बरु यसले अनुष्ठानकर्ताको मन शान्त हुन पुग्छ र उसलाई एक किसिमको मानसिक आनन्द प्राप्त हुन्छ–

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता ।।

नमस्तस्यै । नमस्तस्यै । नमस्तस्यै नमो नमः ।।

(भाव ः जुन देवी सृष्टिका सबै प्राणीहरूमा शक्ति रूप भई विराजमान छिन्, उनै देवी भगवतीलाई हाम्रो नित्य निरन्तर प्रणाम छ ।) 

या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता ।।

नमस्तस्यै । नमस्तस्यै । नमस्तस्यै नमो नमः ।।

(भाव ः जुन देवी सृष्टिका सबै प्राणीहरूमा माता रूप भई विराजमान छिन्, उनै देवी भगवतीलाई हाम्रो नित्य निरन्तर प्रणाम छ ।)