• ४ पुस २०८१, बिहिबार

अढाई दशकपछि सडक कालोपत्रे हुँदै

blog

रामेछाप समाचारदाता 

रामेछाप, कात्तिक ३ गते  । रामेछाप जिल्लाको महत्वपूर्ण मानिएको हलेदे–धोबी, सिरिसे–ढाडे सडक कालोपत्रे गर्न थालिएको छ । लिखुतामाकोशी गाउँपालिकाको गौरवको आयोजना यो सडक ट्र्याक खोलिएको २५ वर्षभन्दा बढी समय बिते पनि सडक विस्तार तथा कालोपत्रे गर्न सरोकारवाला निकायको ध्यान जान सकेको थिएन । लामो समयसम्म मर्मतसम्भारको अभावमा जीर्ण बनेको सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता थियो । 

वर्षौंदेखि अलपत्र रहेको र दैनिक हजारौँ यात्रुको आवतजावत हुने तिल्पुङ हलेदे–धोबी, सिरिसे–ढाड सडकमा कालोपत्रेको काम सुरु भएको लिखुतामाकोशी गाउँपालिका–७, तिल्पुङका वडाध्यक्ष  कैलाश दर्लामीमगरले बताउनुभयो । “ट्र्याक खोलिएको झन्डै २६ वर्षसम्म यो सडक विस्तार तथा कालोपत्रेका लागि राज्यको ध्यान गएन, जसका कारण जोखिम मोलेर सर्वसाधारण यात्रा गर्न बाध्य बने । अहिले सडक कालोपत्रेको काम सुरु भएको छ,” उहाँले भन्नुभयो । 

यो सडक कालोपत्रे गर्न लिखुतामाकोशी गाउँपालिकाले गत वर्ष नै पाँच करोड रुपियाँ र बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले बहुवर्षीय योजना अन्तर्गत २० करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । गाउँपालिकाको बजेटबाट एक हजार आठ सय मिटर र प्रदेश सरकारको बजेटबाट साढे छ किलोमिटर सडक विस्तार तथा कालोपत्रे गरिने भएको छ । गाउँपालिकाको गत आर्थिक वर्षको बजेटबाट काम भइरहेको यो सडकको कालोपत्रेको काम थप गुणस्तरीय बनाउन अनुगमन गरिएको गाउँपालिकाकी उपाध्यक्ष दीपा पाख्रिनले बताउनुभयो ।